साफ अन्डर १९ वुमन्स च्याम्पियनसिप
श्रीलंकालाई नेपालले सजिलै हरायो
काठमाडौँ- बंगलादेशको ढाकामा भइरहेको साफ अन्डर १९ वुमन्स च्याम्पियनसिपमा नेपालले बुधबार श्रीलंकामाथि ६–० को जित दर्ता गरेको छ । पहिलो खेलमा आयोजक बंगलादेशसँग बराबरीमा रोकिएको नेपाली टिमका लागि यो पहिलो जित हो ।
बीएसएसएस मुस्ताफा कमाल रंगशालामा भएको खेलमा नेपालका लागि रश्मीकुमारी घिसिङले दुई गोल गरिन् । उनीबाहेक सविता राना मगर, रजनी थोकर, मेनुका आले मगर र सलोनी राना मगरले एक–एक गोल गर्न सफल भए ।
दोस्रो संस्करणका यो प्रतियोगितामा नेपाल दुई खेलपछि बंगलादेशसँगै पहिलो स्थानमा छ । चार–चार अंक बटुलेका यी दुई टिमले ६–६ गोल गरेका छन् । नेपाल र बंगलादेशलाई भारतले पछ्याइरहेको छ । एक खेल खेलेको भारतको खातामा तीन अंक छ । पाँच टिम सम्मिलित च्याम्पियनसिपमा भुटानले पनि दुई खेलबाट तीन अंक बटुलेको छ भने तीन खेलमा १६ गोल खाएको श्रीलंका पुच्छारमा छ ।
अब नेपालले आफ्नो तेस्रो खेलमा भुटानको सामना गर्नेछ । शुक्रबार हुने दोस्रो खेलमा नेपाल र भुटान आमनेसामने हुँदा पहिलो खेलमा बंगलादेश र भारत भिड्नेछन् । दुई दिनपछि नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया