युवा खेलाडीहरू चम्किँदा आर्सनल प्रिमियर लिगको शीर्ष चारमा
काठमाडौँ- दुई युवा फरवार्डले गोल गरेपछि आर्सनलले इंग्लिस प्रिमियर लिगमा बुधबार राति वेस्टह्यामलाई २–० ले पराजित गरेको छ । एमिरेट्स रंगशालामा भएको खेलमा आर्सनललाई जिताउन गाब्रियल मार्टिनेली र एमिल स्मिथ रोले एक–एक गोल गरे ।
मंगलबार मात्रै पेयर एमेरिक आबुमेयाङलाई कप्तानीबाट हटाएको आर्सनल वेस्टह्यामलाई हराउनै पर्ने दबाबमा थियो । युवा खेलाडीहरूको बाहुल्य रहेको आर्सनललाई शीर्ष चारभित्र छिर्नु पर्ने भएकाले पनि वेस्टह्यामामाथि जित दर्ता गर्नु पर्ने थियो । यो जितसँगै आर्सनल चौथो स्थानमा उक्लेको छ ।
जारी लिगमा १७ खेल खेलिसकेको आर्सनलको पोल्टामा २९ अंक छ । पराजित वेस्टह्याम भने पाँचौँ स्थानमा छ । उसको र आर्सनलको दूरी एक अंकको छ । तेस्रो स्थानमा रहेको चेल्सीले आर्सनलको भन्दा एक खेल कम खेलेको छ । चेल्सीको खातामा ३६ अंक छ । जुन दोस्रो स्थानको लिभरपुलको भन्दा एक अंकले कम हो । यी दुवै टिमले बिहीबार राति खेल्ने तालिका छ ।
आबुमेयाङ सम्बन्धि विवादले आर्सनललाई असर गरेको देखिएन । किनभने एमिरेट्समा आर्सनल हरेक विभागमा बलियो देखियो । वेस्टह्यामले भन्दा दोब्बर बढी आक्रामण बुन्यो । मिकेल आर्टेटाको रणनीतिलाई उनका युवा खेलाडीहरूले राम्रोसँग पालना गरे ।
‘यो जितले स्वभाविकरुपमा म प्रशन्न छु । खेलाडीहरूले उत्साहपूर्वक खेले । युवा खेलाडीहरूले रणनीति अनरुप खेले । यो टिमका लागि सुखद संकेत हो,’ खेलपछि आर्टेटाले भने । स्पेनिस प्रशिक्षकको नेतृत्वमा पछिल्लो १२ महिनामा आर्सनलले फड्को मारेको छ । १२ महिना अगाडि यो समयमा १५ औँ स्थानमा रहेको आर्सनलले सुधारिएको प्रदर्शन गर्दै शीर्ष चारका लागि प्रतिस्पर्धा गर्ने स्थानसम्म आइपुगेको छ ।
आफ्नो घरेलु मैदानमा आर्सनलले अधिकतम अंक बटुलिरहेको छ । एमिरेट्समा खेलेका पछिल्ला नौ खेलमा आर्सनलले २२ अंक आफ्नो पोल्टामा पारको छ । यद्यपि एमिरेट्स बाहिर भने आर्सनलको लय उति बलियो देखिएको छैन । उसले घरबाहिर पाँच हार बेहोरिसकेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया