सहिद स्मारक 'ए' डिभिजन लिग
मछिन्द्रको नजर एएफसी कप छनौटमा, आर्मीको उदेश्य उपाधि होडमा रहिरहने
काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिगको पाँचौँ चरणका खेलहरू शुक्रबारबाट सुरु हुँदैछन् । दिनको पहिलो खेलमा त्रिभुवन आर्मी एफसीले सातदोबाटो युथ क्लबको सामना गर्दैछ । अनि दोस्रो खेलमा मछिन्द्र फुटबल क्लबले संकटा क्लबसँग प्रतिस्पर्धा गर्दैछ । दुवै खेल दशरथ रंगशालामा हुनेछन् ।
सातौँ चरणको समाप्तिमा पहिलो स्थानमा रहने टिम एएफसी कप छनौटका लागि छानिने छ । यसकारण अंक तालिकामा क्रमशः पहिलो र तेस्रो स्थानमा रहेका मछिन्द्र र आर्मीका लागि आजको खेलहरू महत्वपूर्ण छन् । तर दुवै टिमका लागि विपक्षीद्वय भने सजिला छैनन् ।
शीर्षस्थानमा रहेको मछिन्द्रसँग भिड्न लागेको संकटा चौथो स्थानमा छ । चार खेल खेलेको संकटाको खातामा आठ अंक छ । तेस्रो स्थानको आर्मी र संकटाको अंक बराबरी भए पनि गोल भिन्नताले यी दुई टिमको स्थान छुट्याएको हो । उता आर्मीको विपक्षी सातदोबाटो जारी लिगमा सन्तोषजनक प्रदर्शन गरिरहेको टिम हो । सातदोबाटोले चार खेलबाट सात अंक छ ।
शुक्रबारको खेलअघि आयोजित पत्रकार सम्मेलनमा मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटवालले आफ्नो टिमको प्राथमिक लक्ष्य उपाधि रक्षा गर्नु भएकाले संकटासँगको खेल महत्वपूर्ण रहेको बताए । ‘पछिल्लो खेलमा संकटाले पुलिसलाई हरायो । यसबाट पनि संकटा कति बलियो टिम हो भन्ने प्रष्ट हुन्छ । तर हाम्रो उदेश्य जित नै हो,’ प्रवेशले भने ।
आउँदा दुई खेलमा मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबको सामना गर्नुपर्ने भएकाले पनि संकटासँगको खेलबाट तीन अंक बटुलेर ढुक्क हुन चाहेको पनि प्रवेशको भनाइ थियो । ‘एएफसी कपको छनौट खेल्न सातौँ चरण सकिँदा पहिलो स्थानमा रहनु छ । अहिलेका लागि हाम्रो ध्यान यसैमा छ,’ प्रवेशले भने ।
आर्मीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले सातदोबाटोसँगको खेलमा आफूहरू संयमित रहने बताए । शीर्ष दुईमा रहेका मछिन्द्र र मनाङमाथि दबाब सिर्जना गर्नका लागि पनि सातदोबाटोलाई हराउनै पर्ने स्थिति रहेको उनको भनाइ थियो । यसो भनिरहँदा नवीनले सातदोबाटोको प्रशंसा गर्न भने छुटाएनन् । ‘सातदोबाटो रक्षापंक्ति, मिडफिल्ड र अग्रपंक्ति लगायत तीनै विभागमा अब्बल देखिएको छ । तर हामी जितको लक्ष्य लिएर नै मैदान उत्रनेछौँ । मछिन्द्र र मनाङलाई दबाब दिनका लागि पनि हामीले यो खेल जित्नै पर्नेछ,’ नवीनले भने ।
आजको खेलः
सातदोबाटो युथ क्लबविरुद्ध त्रिभुवन आर्मी एफसी, दिउँसो १ बजे
संकटा क्लबविरुद्ध मछिन्द्र फुटबल क्लब, अपरान्ह ४ः४५ बजे
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया