फुटबल

कोभिडका कारण प्रिमियर लिगका चार खेल स्थगित, उपाधि दौडमा रहेका टिमहरू भने खेलिरहने

इकागज |
पुस २, २०७८ शुक्रबार १४:२३ बजे

काठमाडौँ- बेलायतमा कोभिड–१९ सक्रमणमा पर्नेको संख्या बढ्दै जाँदा त्यहाँको फुटबलमा पनि असर परिरहेको छ । इंग्ल्यान्डको शीर्ष लिग इंग्लिस प्रिमियर लिगका कयौँ खेल स्थगित भएका छन् । यो शनिबार हुने भनिएका चार खेल स्थगित भएका छन् । साउथह्याम्पटनविरुद्ध बे्रन्टफोर्ड, वाटफोर्डविरुद्ध क्रिस्टल प्यालेस, वेस्टह्यामविरुद्ध नर्विच र एभरटनविरुद्ध लेस्टर सिटी लगायतका खेलहरूको मिति सरेको हो । 

कोभिडका कारण प्रिमियर लिगका खेलहरू स्थगित गरिएको यो पहिलो पटक होइन । गत बिहीबार म्यानचेस्टर युनाइटेड र ब्राइटनबीचको खेल पनि स्थगन गरिएको थियो । उता टोटनहम र लेस्टरबीचको खेल पनि भएन । प्रिमियर लिगमा यो साता हुने सबै खेल स्थगित गर्नुपर्ने माग उठिरहेको छ । तर प्रिमियर लिग प्रशासनले त्यसो गर्न मानेको छैन । ‘स्थगित नभएका खेलहरू तोकिएकै समयमा खेलाइनेछ,’ प्रिमियर लिगले भनेको छ । 


कोभिड संक्रमणमा पर्ने खेलाडीको संख्या बढ्दो छ । बिहीबार राति न्युकासल युनाइटेडलाई हराएको लिभरपुलका केही खेलाडी पनि संक्रमित भएको शंका गरिएको छ । शंकाकै कारण भर्जिल भान डाइक, फाबिन्हो र कर्टिस जोन्स लिभरपुलको टिमबाट बाहिर रहे । आफ्ना खेलाडीहरू कोभिड संक्रमणमा परेको शंका भए पनि लिभरपुलले खेल स्थगित वा मिति परिवर्तन गर्न अनुरोध नगरेको योर्गन क्लपले बताए । 

चेल्सीका चार खेलाडी कोभिड संक्रमणमा परेको पुष्टि भइसकेको छ । रोमेलु लुकाकु, टिमो बेरनर, क्यालुम हड्सन ओडाई र बेन चिलवेल कोभिड संक्रमण परेको बताइएको छ । 

प्रिमियर लिगमा शनिबारका खेलहरू स्थगित गरिए पनि आइतबारका खेलहरू भने जारी रहनेछन् । आइतबारको तालिका अनुसार उपाधि होडमा रहेका तीन क्लब मैदानमा उत्रनेछन् । लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले रेलिगेसन क्षेत्रमा रहेको न्युकासल युनाइटेडको भ्रमण गर्दैछ । त्यसैगरी दोस्रो स्थानमा रहेको लिभरपुलले टोटनहमको सामना गर्दैछ । तेस्रो स्थानको चेल्सीको खेल उल्भरह्याम्पटनसँग छ । 

कोभिडबाट प्रभावित एस्टन भिल्लाको खेल पनि स्थगित भएको छैन । उसले शनिबार राति नै बर्नलीलाई आफ्नो मैदानमा स्वागत गर्दैछ । उता लिड्स युनाइटेड चौथो स्थानको आर्सनलसँग भिड्ने तालिका छ । 

प्रिमियर लिगमा उपाधि दौड पेचिलो बन्दै गर्दा कोभिडको नयाँ भेरिएन्टले बेलायत आक्रान्त बनेको छ । तर यसले प्रिमियर लिगलाई कुन तहसम्म असर गर्छ भन्ने टुंगो छैन । विभिन्न प्रशिक्षकले प्रिमियर लिग स्थगन गर्नुपर्ने आशय व्यक्त गरिरहे पनि प्रिमियर लिग प्रशासन भने पर्ख र हेरको रणनीतिमा छन् । 

उता लिगका ठूला क्लबहरूका प्रशिक्षकले भने लिग स्थगन गरिनु पर्छ भनिहालेका छैनन् । ‘लिग रोकिनु पर्छ वा पर्दैन भन्ने प्रश्नको जवाफ मसँग छैन । लिग यदि दुई साताका लागि रोक्न सकिन्छ । तर यो तरिक उपयुक्त हो वा होइन, मलाई थाहा छैन । हामीसँग धेरै प्रश्नको जवाफ छैन । न त समाधानको तरिका नै छ,’ लिभरपुलका प्रशिक्षक योर्गन क्लपले भनेका छन् । 

चेल्सीका प्रशिक्षक थोमस टुकेलले पनि प्रष्ट राय राख्न सकेका छैनन् । ‘हामी सबैजना कोभिडका कारण त्रासमा छौँ । हाम्रो टिममा चार खेलाडी संक्रमणमा परिसकेका छन् । अरु टिमका खेलहरू रोकिए तर हाम्रो भने रोकिएन । यदि प्रिमियर लिगले हामीलाई खेल भन्छ भने हामीसँग अर्को विकल्प छैन,’ टुकेलले भने । 
 
 
 


Author

थप समाचार
x