फुटबल

सहिद स्मारक ‘ए’ डिभिजन लिग राउन्ड–अप

रोचक बन्दै लिग, शीर्ष स्थानका लागि त्रिकोणीय प्रतिस्पर्धा

इकागज |
पुस २, २०७८ शुक्रबार २०:२६ बजे

काठमाडौँ- यसपटकको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बलिया मानिएका टिमहरुको लक्ष्य उपाधि जित्ने त हुँदै हो, एएफसी कप छनौट खेल्ने पनि हो । लिग जित्ने वित्तिकै महादेसीय क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिताको छनौट खेल्नका लागि स्वतः छानिनु पर्ने हो । तर यसपालिको लिग केही फरक छ । लिग च्याम्पियन होइन, आधा सिजन सकिँदा जो पहिलो उसैले एएफसी कपको छनौट खेल्न मौका पाउनेछ । 

यही मौकाका लागि कमसेकम तीन टिम दौडमा छन् । ती हुन्, मछिन्द्र क्लब, मनाङ मस्र्याङदी क्लब र त्रिभुवन आर्मी एफसी । संयोगवश एएफसी लाइसेन्सधारी यी तीन टिमको अंक दूरी एक–एक अंकको छ । शुक्रबार भएका दुई खेलपछि यी तीन क्लबको दूरी एक–एक अंकमा झरेको हो । मछिन्द्रको खातामा पाँच खेलबाट ११ अंक छ भने एक खेल कम खेलेको मनाङले १० अंक बटुलेको छ । अनि तेस्रो स्थानको आर्मीको पोल्टामा नौ अंक छ । चौथो स्थानको संकटा क्लबसँग पनि नौ अंक छ । तर एएफसी लाइसेन्स नभएकाले संकटा एएफसी कप छनौटको दौडमा छैन । 


शुक्रबार दशरथ रंगशालामा महत्वपूर्ण दुई खेल भए । पहिलो खेलमा आर्मी सातदोबाटोसँग भिड्यो । दोस्रो खेलमा मछिन्द्रले संकटाको सामना ग¥यो । दुवै खेल बराबरीमा सकिए । आर्मीलाई सातदोबाटोले १–१ को बराबरीमा रोक्यो । उता अर्को खेलमा मछिन्द्र र संकटाले गोल गर्न सकेनन् । 

पहिलो खेलमा आर्मी बराबरीमा रोकिएपछि मछिन्द्रसँग संकटालाई पराजित गर्दै शीर्ष स्थानमाथिको पकड बलियो बनाउने मौका थियो । तर यसो गर्न मछिन्द्र चुक्यो । यो नतिजासँगै मछिन्द्रको एएफसी कप छनौटमा छानिने लक्ष्य चुनौतीपूर्ण हुने देखिएको छ । किनभने उसले आउँदा दुई चरणमा कठिन प्रतिद्वन्द्वीको सामना गर्दैछ । छैटो चरणमा मछिन्द्रको भेट मनाङसँग हुनेछ । यसैगरी सातौँ चरणको खेलमा मछिन्द्रले नेपाल पुलिस क्लबको सामना गर्नेछ । 

मनाङ भने पाँचौँ चरणको खेलमा शनिबार पुलिससँग भिड्दैछ । पोखरा रंगशालामा हुने खेलमा मनाङ विजयी भए मछिन्द्रभन्दा दुई अंकले अघि हुनेछ । मनाङका लागि छैटो खेल भने निर्णायक सावित हुनसक्छ । किनभने दशरथ रंगशालामा मनाङ र मछिन्द्र भिड्नेछन् । यो खेलमा मनाङले बराबरी मात्रै गर्न सके सातौँ खेलमा तुलनात्मक रुपमा कमजोर रहेको बिगे्रड ब्योइजलाई पाखा लगाउँदै शीर्ष स्थान कब्जा गर्न सक्छ । 

शीर्ष स्थानमा पुग्ने लक्ष्य त्यागी नसकेको आर्मीले आउँदा दुई खेलमा थ्रीस्टार क्लब र एपीएफ फुटबल क्लबको सामना गर्दैछ । आर्मीले शीर्षस्थानमा पुग्ने अवसर नपाएको होइन । शुक्रबार जित हासिल गरेको भए आर्मी पहिलो स्थानमा पुग्न सक्थ्यो । तर अब उसले एएफसी कप छनौट खेल्ने जीवित राख्न आगामी दुई खेल त जित्नै पर्नेछ । यतिले मात्रै उसको लक्ष्य सफल नबन्न सक्छ । मछिन्द्र र मनाङले प्राप्त गर्ने नतिजामा पनि उसको भाग्य निर्भर हुनेछ । आर्मीका मुख्य प्रशिक्षक नवीन न्यौपानेको भनाइ पनि यही थियो । 

‘आज जितेको भए हामी शीर्ष स्थानमा पुग्ने थियौँ । तर अब हामी मछिन्द्र र मनाङको नतिजामा भर पर्नु पर्ने स्थितिमा पुगेका छौँ । हामीले सातदोबाटोसँग सर्तक भएर खेल्यौँ । तर विपक्षीले सोचेको भन्दा राम्रो खेल देखाएकाले हामी आफ्नो लक्ष्यमा सफल हुन सकेनौँ,’ शुक्रबारको नतिजापछि नवीनले भने । 

 
 


Author

थप समाचार
x