फुटबल

एरिक्सनले इन्टर मिलान छाड्ने

इकागज |
पुस ३, २०७८ शनिबार १३:५२ बजे

काठमाडौँ- क्रिस्टिएन एरिक्सनले इन्टर मिलान छाड्ने भएका छन् । युरो २०२० दौरान हृदयघातका कारण मैदानमै ढलेका एरिक्सन लामो समयदेखि खेलबाहिर छन् । उनको मुटुमा समस्या देखिएकाले ‘डेफिब्रिलेटर’ जडान गरिएको छ । यसैकारण उनले इटालीमा खेल्न नपाउने भएपछि इन्टरले डेनिस प्लेमेकरलाई क्लबमा राख्न नसक्ने निर्णय गरेको हो ।  

इटालीको नियम अनुसार जो खेलाडीको मुटुमा ‘डेफिब्रिलेटर’ जडान गरिएको छ, उसले खेल्न पाउँदैन । इन्टरमा करियरलाई निरन्तरता दिन एरिक्सनले ‘डेफिब्रिलेटर’ हटाउनु पर्ने थियो । तर एरिक्सनको उपचारमा संलग्न डेनिस फुटबल संघका चिकित्सकले ‘डेफिब्रिलेटर’ ननकिाल्न सुझाए । यसो भएपछि एरिक्सनका लागि सिरी ए मा फर्कन सम्भव भएन । 


टोटनहमबाट इन्टर पुगेका २९ वर्षीय एरिक्सनले इटालियन च्याम्पियनसँग सन् २०२४ सम्मका लागि सम्झौता गरेका थिए । तर सम्झौता सकिनु अघि नै एरिक्सनले क्लब छाड्ने भएका हुन् । यसका लागि दुवै पक्ष सहमतिमा पुगेका छन् । 

डेनमार्कका लागि १०९ खेल खेलिसकेका एरिक्सन हाल हाल आफ्नै देशमा छन् । पुरानो क्लब ओडेनेसेमा अभ्यास गरिरहेका एरिक्सन आउँदो जनवरीमा खुल्ने सरुवा बजारमा स्थान्तरणका लागि उपलब्ध हुनेछन् । तर उनी कुन क्लब जाने भन्नेमा टुंगो छैन । युरोपका केही सञ्चार माध्यमका अनुसार उनी आयाक्स फर्कने सम्भावना छ ।   
 


Author

थप समाचार
x