फुटबल

समस्याग्रस्त लिड्सविरुद्ध आर्सनलको सहज जित

इकागज |
पुस ४, २०७८ आइतबार १०:१२ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा शनिबार राति ६ खेल हुनुपर्ने थियो । तर कोभिड–१९ ले बेलायत र इंग्लिस फुटबल आक्रान्त बनिरहेका बेला पाँच खेल स्थगित भए । तर आर्सनल र लिड्स युनाइटेडबीचको खेल भने रोकिएन । लिड्सको मैदानमा भएको खेलमा आर्सनल ४–१ ले विजयी बन्यो । 

आर्सनललाई जित दिलाउन फेरि एक पटक युवा खेलाडीहरूको जोश र प्रतिभा निर्णायक बन्यो । पूर्वकप्तान र निकोलस पेपे जस्ता अनभुवी खेलाडीलाई मौका नदिइएको खेलमा ब्राजिलका गाब्रियल मार्टिनेलीले दुई गोल गरे । लेफ्ट विंगरले दुई गोल गर्दा राइट विंगबाट खेलिरहेका इंग्लिस फरवार्ड बुकायो साकाले एक गोल गरे । अनि २१ वर्षीय एमिल स्मिथ रोले एक गोल थपे । लिड्सका तर्फबाट गोल गर्ने एक्ला खेलाडी बने रफिन्हा । 


खेलपछि आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले आफ्नो टिम भाग्यमानी सावित भएको प्रतिक्रिया दिए । प्रिमियर लिगका अन्य खेल स्थगित हुँदा आफ्नो टिमको खेल नरोकिएका कारण आर्टेटाले यस्तो धारणा राखेका हुन् । ‘अहिले जे भइरहेको छ, यसको असर हाम्रो टिममा परेन । सायद हामीलाई भाग्यले साथ दियो । मैले मेरा खेलाडीहरूलाई दबाब महशुस नगरी खेल्न भनेको थियो । किनभने अर्को खेल हुन्छ वा हुँदैन हामीलाई थाहा छैन,’ 

सप्ताहन्तका १० मध्ये आधा भन्दा बढी खेल स्थगित भएपछि प्रिमियर लिग खेल्ने २० क्लबको सोमबार बैठक बस्दैछ । लिगलाई निरन्तरता दिने वा केही समयका लागि रोक्ने भन्‍ने विषयमा छलफल हुने फ्रेन्च समाचार एजेन्सी एएफपीले लेखेको छ । 

जितका कारण आर्सनलसँग हर्षित हुने मौका भएपनि पराजित टिम लिड्सको समस्या भने गहिरिएको छ । किनभने लिड्सले लगातार पराजय भोगिरहेको छ । यसअघिका दुई लिग खेलमा पनि लिड्स पराजित भएको थियो । मार्सेलो बिएल्साको टिम अंक तालिकामा १६ औँ स्थानमा छ । १८ खेलबाट १६ अंक जम्मा गरेको लिड्सले आगामी खेलमा लिभरपुलको सामना गर्दैछ । त्यो खल हारे लिड्स रेलिगेसन क्षेत्रको नजिक पुग्नेछ । 

शनिबार रातिको खेलपछि बिएल्सा निराश देखिए । ‘यो चार वर्ष यताकै सबैभन्दा खराब प्रदर्शन थियो,’ बिएल्साले भने । घाइते हुने खेलाडीको संख्या बढिरहँदा लिड्स समस्यामा फसेको छ । आर्सनलसँग भिड्दा लिड्ससँग कप्तान लियाम कुपर, प्याट्रिक बामफोर्ड, काल्भिन फिलिप्स र स्पेनिस स्ट्राइकर रोड्रिगो थिएनन् । लिड्सका नौ खेलाडी चोट र कोभिड संक्रमणका कारण उपलब्ध छैनन् । 
 
 


Author

थप समाचार
x