आफ्नो पूर्वक्लब क्रुजेरोको मालिक बन्दै रोनाल्डो
काठमाडौँ- ब्राजिलका पूर्वखेलाडी रोनाल्डो नाजारियो त्यहाँको स्थानीय क्लब क्रुजेरोको बहुमत सेयरधनी बन्ने भएका छन् । करियरको सुरुवातमा आफैँले खेल्ने गरेको क्रुजेरोको मुख्य लगानीकर्ता बन्ने घोषणा रोनाल्डोले शनिबार राति गरेका हुन् । दुई पटक विश्वकप जितेका ४५ वर्षीय रोनाल्डोले क्रुजेरोको सेयर खरिद गर्न लागेको भनेर क्लबका अध्यक्ष सर्जियो सान्टो रोद्रिगेजले पनि जानकारी दिएका छन् ।
रोनाल्डोले क्रुजेरोबाटै व्यवसायिक खेल करियर सुरु गरेका थिए । त्यसबखत ब्राजिलको शीर्ष श्रेणीमा रहेकाे क्रुजेरो हाल दोस्रो श्रेणीमा छ । आर्थिक समस्यामा फसेपछि क्रुजेरोले पहिलो श्रेणीमा फर्किने गरी टिमको निर्माण गर्न सकेको छैन । यसकारण रोनाल्डोको संलग्नतामा क्रुजेरोले ब्राजिलको माथिल्लो श्रेणीको फुटबलमा पुनरागमन गर्ने अपेक्षा गरिएको छ ।
‘क्रुजेरोसँग आबद्ध हुने मौका पाउँदा हर्षित छु । क्रुजेरोलाई पहिलाको स्थानमा फर्काउन हामीले मेहनत गर्न पर्नेछ,’ रोनाल्डोले भनेका छन् ।
रोनाल्डो क्लब मालिक बन्न लागेको यो पहिलो पटक होइन । उनी केही वर्षअघि देखि स्पेनको रियल भाल्लाडोलिडको पनि मालिक रहँदै आएका छन् । हाल स्पेनको दोस्रो श्रेणीमा रहेको भाल्लाडोलिडमा रोनाल्डोले सन् २०१८ मा बहुमत सेयर खरिद गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया