फुटबल

स्पेनिस ला लिगा राउन्ड–अप

रियललाई कमजोर काडिथले रोक्यो, आठ खेलपछि बिल्बाओको पहिलो जित

इकागज |
पुस ५, २०७८ सोमबार १०:३९ बजे

काठमाडौँ- स्पेनिस ला लिगामा आइतबार राति रियल मड्रिड काडिथसँग गोलरहित बराबरीमा रोकिएको छ । सबैखाले प्रतियोगितामा गरी पछिल्ला १० खेलमा अपराजित रहेको रियललाई काडिथले बर्नाबाउमै रोकेको हो । बराबरीका बाबजुत पनि रियल शीर्ष स्थानमै छ । १८ खेल खेलिसकेको रियलको ४३ अंक छ । दोस्रो स्थानको सेभियाले १७ खेलबाट ३७ अंक बटुलेको छ । 

काडिथसँग भिड्दा रियलका पाँच खेलाडी कोभिड संक्रमणमा कारण टिममा थिएनन् । लुका मोड्रिच, रोड्रिगो, मार्को एसेन्सियो, ग्यारेथ बेल, मार्सेलो र गोलरक्षक आन्दे्र लुनिन कोभिड संक्रमणमा परेको रियलले बताएको छ । मार्सेलो र बेल रियलको पहिलो रोजाइका खेलाडी नभए पनि मोड्रिच, रोड्रिगो र एसेन्सियो टिममा नहुँदा कार्लो एन्सिलोट्टी समस्यामा परेको बताइएको छ । 


आइतबार राति नै भएको अर्को खेलमा ग्रानाडाले मर्योकामाथि ४–१ को जित दर्ता गर्‍यो । ग्रानाडाको जितमा जोर्ज मोलिनाले ह्याट्रिक गरे । यसले ३९ वर्षीय मोलिनालाई ला लिगाकै इतिहासमा ह्याट्रिक गर्ने सबैभन्दा पाको खेलाडीका रुपमा दर्ज गराएको छ ।   

युरोपका पाँच ठूला लिगका तथ्यांक संकलन गर्ने ओप्टाका अनुसार ला लिगाको मात्र होइन इंग्लिस प्रिमियर लिग, जर्मन बुन्डेसलिगा, इटालियन सिरी ए र फ्रेन्च लिग वानको इतिहासमा पनि मोलिना जत्तिको पाको खेलाडीले अहिलेसम्म ह्याट्रिक गरेका छैनन् । 

मोलिनाले २९ वर्षको उमेरमा मात्रै ला लिगामा डेब्यु गरेका थिए । यसअघि रियल बेटिस र गेटाफेबाट खेलेका मोलिना गत सिजन मात्रै ग्रानाडासँग आबद्ध भएका थिए । ‘जहिलेसम्म शरीरले साथ दिन्छ, त्यतिबेलासम्म खेलिरहन्छु,’ मोलिनाले भनेका छन् । 

उता एथ्लेटिको बिल्बाओले पनि आइतबार राति नै जित दर्ता गर्‍यो । पछिल्ला आठ खेलमा जित हासिल गर्न नसकेको बिल्बाओले बेटिसलाई ३–२ ले हरायो । गएका तीन खेल जितेको बेटिस बिल्बाओसँग हारे पनि अंक तालिकामा तेस्रो स्थानमा यथावत छ । बिल्बाओ भने नवौँ स्थानमा छ । 

ला लिगाको अर्को खेलमा गेटाफेले ओसासुनालाई १–० ले पराजित गर्‍यो । यो जितसँगै गेटाफे रेलिगेसन क्षेत्रबाट निस्केको छ । १६ औँ स्थानको गेटाफेको खातामा १८ खेलबाट १५ अंक जम्मा भएको छ । १८ औँ स्थानमा रहेको अलाभेसको पनि १५ अंक नै छ । तर गोल भिन्नतामा गेटाफे र एल्चे रेलिगसन क्षेत्रबाट उम्केका हुन् । ला लिगाको पुच्छारमा लेभान्टे छ । उसले १७ खेल खेल्दा आठ अंक मात्रै जम्मा गर्न सकेको छ । 

 
 


Author

थप समाचार
x