फुटबल

इटालियन सिरी ए राउन्ड–अप

च्याम्पियन इन्टर शीर्ष स्थानमा, दोस्रो स्थानका लागि नेपोली र मिलानको प्रतिस्पर्धा कायमै

इकागज |
पुस ५, २०७८ सोमबार ११:९ बजे

काठमाडौँ- इटालियन सिरी ए को उपाधि दौडमा चार टिम देखिएका छन् । पहिलो स्थानको इन्टर मिलानले बाँकी तीन टिमसँगको अंक दूरी बढाउने प्रयास गरिरहेको छ । इन्टरले १८ खेलबाट ४३ अंक जम्मा गरेको छ । शनिबार राति सालेरनिटानालाई ५–० ले पन्छाएपछि इन्टरले शीर्ष स्थानमाथिको पकड बलियो बनाएको हो । 

इन्टरले आफ्नो खेलमा स्वभाविक जित हासिल गरेपछि दोस्रो र तेस्रो स्थानका नेपोली र एसी मिलानबीचको खेलको महत्व झनै बढेको थियो । यो खेलमा नेपोलीले संर्घषपूर्ण जित दर्ता गर्‍यो । आइतबार राति सान सिरोमा भएको खेलमा नेपोलीका लागि निर्णायक गोल गरे, एल्जिफ एल्मासले । म्यासिडोनियाका २२ वर्षीय यी फरवार्डले पाँचौँ मिनेटमै गोल गरेका थिए । 


घरेलु मैदानमा सुरुवातमै पछि परेको मिलानले गोल नफर्काएको होइन । ९० औँ मिनेटमा फ्रान्क केसीले गोल गरे । तर उनको गोललाई भीएआरले मान्यता दिएन । केसीको गोललाई अफसाइड भनिएपछि मिलानका प्रशिक्षक स्टेफानो पिओली आक्रोशित देखिए ।

‘उनीहरू नियमको प्रयोग गर्छन् । नियमलाई सही ढंगले प्रयोग गरेको दाबी गर्छन् । तर यो खेलमा कस्तो नियम प्रयोग गरियो मलाई थाहा छैन । यो हारले मलाई निराश बनाएको छ । तर हारलाई बिर्सेर अघि बढ्नु बाहेकको विकल्प हामीसँग छैन,’ पिओलीले भने । 

सान सिरोको नतिजापछि नेपोली र मिलानको समान ३९–३९ अंक भएको छ । तर गोल भिन्‍नतामा नेपोलीले दोस्रो स्थानमाथि कब्जा गरेको हो । बलियो मिलानमाथिको जितले नेपोलीको आत्मविश्वास बढेको छ । किनभने नेपोलीले पछिल्ला ६ लिग खेलमा एक जित मात्रै हासिल गर्न सकेको थियो ।
 


Author

थप समाचार
x