हारबाट जोगियो एपीएफ तर रेलिगेसनको डर कायमै
काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार एपीएफ फुटबल क्लब र न्युरोड टिमले ३–३ को बराबरी खेलेका छन् । जारी लिगमा खराब लयमा रहेको एपीएफका लागि यो दोस्रो बराबरी हो । यसअघि एपीएफले थ्रीस्टार क्लबसँग पनि बराबरी खेलेको थियो । लिगमा कुल ६ खेल खेल्दा एपीएफले दुई हार बेहाेरेकाे छ ।
दशरथ रंगशालामा भएको खेलमा एपीएफका लागि आशिष लामा, नवीन लामा र दीपेश धिमालले एक–एक गोल गरे । उता एनआरटीका लागि भने दर्शन गुरुङ एक्लैले दुई गोल गरे । एनआरटीको तेस्रो गोल भने विदेशी खेलाडी मेसुके ओलोमौले गरे ।
दर्शनले ३२ औँ मिनेटमा एनआरटीलाई अग्रता दिलाएका थिए । तर त्यसको पाँच मिनेटपछि नै आशिषले विभागीय टिमका लागि बराबरी गोल गरे । ४८ औँ मिनेटमा दर्शनले एनआरटीलाई फेरि अगाडि बढाए । त्यसपछि ओलोमौउले ६१ औँ मिनेटमा गोल गर्द एनआरटीलाई ३–१ को स्थितिमा पुर्याए ।
६५ औँ मिनेटमा दीपेशले गोल गरेपछि एपीएफले खेलमा फर्कने संकेत गर्यो । दीपेशले गोल गरेको पाँच मिनेटपछि कप्तान नवीनले गोल गरे । जुन एपीएफका लागि एनआरटीबाट अंक खोस्न पर्याप्त रह्यो ।
यो बराबरीसँगै एपीएफ पाँच अंकसहित ११ औँ स्थानमा छ । तेस्रो चरण सकिँदा रेलिगेसन क्षेत्रमा रहेका एपीएफले पछिल्ला दुई खेलबाट चार अंक बटुलेको छ । लिगमा आफ्नो चौथो खेलमा एपीएफले फ्रेन्ड्सलाई पराजित गरेको थियो । जुन विभागीय टिमले लिगमा दर्ता गरेको पहिलो जित थियो ।
लिगमा मध्यान्तरतर्फ अघि बढ्दा रेलिगेसन ब्याटल पेचिलो बन्ने देखिएको छ । फ्रेन्ड्स क्लब दुई अंक बटुलेर पुच्छारमा रहँदा च्यासल युथ क्लब चार अंक बोकेर १३ औँ स्थानमा छ । १२ औँ स्थानको जावालाखेलको खातामा पनि चार अंक नै छ । यी तीनवटै टिमले ११ औँ स्थानको एपीएफको भन्दा एक खेल बढी खेलेका छन् । १० औँ स्थानमा रहेको नेपाल पुलिस क्लबले भने पाँच खेलबाट पाँच अंक नै जम्मा गरेको छ ।
लिगमा मनाङ मस्र्याङ्दी क्लब १३ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको मछिन्द्र क्लबको ११ अंक छ । तेस्रो र चौथो स्थानमा क्रमशः त्रिभुवन आर्मी क्लब र संकटा क्लब छन् । आर्मी र संकटाको बराबर नौ–नौ अंक छ । यी दुई टिमलाई सातदोबाटो युथ क्लबले पछ्याइरहेको छ । अनुभवी मेघराज केसीको नेतृत्वमा रहेको सातदोबाटोसँग आठ अंक छ । शीर्ष पाँचमा रहेका सबै टिमले पाँच–पाँच खेल खेलेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया