फुटबल

एस्टन भिल्लाको उद्दार खेलाडीहरूले गरेका हुन्, मैले होइनः स्टिभन जेरार्ड

इकागज |
पुस १०, २०७८ शनिबार १४:५१ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा एस्टान भिल्ला हाल १० औँ स्थानमा छ । सिजनको सुरुवातमा खराब प्रदर्शन गरेको भिल्ला रेलिगेसनको क्षेत्रको नजिक थियो । लगातार पाँच खेल हारेपछि भिल्लाले डिन स्मिथलाई प्रशिक्षकबाट हटायो र स्टिभन जेरार्डलाई जिम्मेवारी दियो । त्यसपछि भिल्लाको प्रदर्शनमा सुधार आएको छ । अनि अंक तालिकामा पनि छलाङ मारेको छ । 

भिल्लालाई १६ औँ स्थानबाट १० औँ स्थानमा पुर्‍याएका जेरार्डको स्वभाविक तारिफ भइरहेको छ । तर यो सफलताको जस आफूले मात्रै लिन नहुने बताइरहेका छन् लिभरपुलका पूर्वकप्तान जेरार्ड । ‘म आएपछि भिल्लाले अंक बटुलिरहेको छ । खेलाडीहरूले राम्रो खेलिरहेका छन् । यसकारण जस उनीहरूलाई पनि जान्छ । हामीले जसरी खेलिरहेका छौँ, यसले मलाई अचम्ममा पारेको छैन । किनभने भिल्लामा कतिसम्म गर्न सकिन्छ भन्नेमा म प्रष्ट थिए,’ जेरार्डले भनेका छन् । 


भिल्लाले आइतबार जेरार्डको प्रशिक्षणमा आठौँ लिग खेल खेल्दैछ । चेल्सीसँगको यो खेल भिल्लाको मैदान भिल्ला पार्कमा हुँदैछ । यसअघि भिल्लाको प्रशिक्षक भएर म्यानचेस्टर सिटी र लिभरपुलको सामना गरिसकेका जेरार्डले चेल्सीसँगको खेलमा आफ्नो टिमले आत्मविश्वासका साथ खेल्ने प्रतिक्रिया दिएका छन् । 

‘सिटीबाट अंक खोस्ने मौका थियो । लिभरपुलसँगको खेलमा भने हामी प्राय सबै पक्षमा कमजोर सावित भयौँ । तर यी दुई ठूला टिमलाई हामीले टक्कर दिन सकेकै हो । यसकारण चेल्सीसँग डराउनु पर्ने आवश्यक छैन । अर्को खेल लिड्स युनाइटेडसँग छ । त्यो खेलअघि हामी सहज स्थानमा रहन चाहन्छौँ,’ जेरार्डले भने । 

भिल्लाले लिभरपुलसँग १–० को हार बेहोरेको थियो भने सिटीसँग २–१ ले हारेको थियो । तर त्यसबाहेकका लिग खेलहरुमा जेरार्ड नेतृत्वको भिल्लाले सफलता हासिल गरेको छ । भिल्लाले ब्राइटन, क्रिस्टल प्यालेस, लेस्टर सिटी र नर्विचलाई पराजित गरेको थियो । 
 


Author

थप समाचार
x