फुटबल

बार्सिलोनामा टोरेसलाई जर्सी नम्बर २५

इकागज |
पुस ११, २०७८ आइतबार १२:१ बजे

काठमाडौँ- केही दिनयता फेरान टोरेसले म्यानचेस्टर सिटी छाड्ने हल्ला चलिरहेको छ । आफू बार्सिलोना जान चाहेको जानकारी २२ वर्षीय टोरेसले सिटीलाई जानकारी दिइसकेको बताइएको छ । टोरेस अगस्ट, २०२० मा स्पेनको भ्यालेन्सियाबाट सिटी पुगेका थिए । तर इंग्लिस प्रिमियर लिगमा दुई सिजन पनि नबिताई उनी घर फर्कन लागेका हुन् । 

टोरेसको बार्सिलेना स्थान्तरणबारे स्पेनका सञ्चार माध्यमहरूले निरन्तर लेखिरहेका छन् । उनीहरुका अनुसार टोरेसका लागि बार्सिलोना पाँच करोड ५० लाख युरो तिर्न तयार भएको बताइएको छ । स्पेनको स्पोर्ट नाम गरेको अखबारका अनुसार टोरेस सोमबार बार्सिलोना पुग्नेछन् । अनि क्याम्प नौउमा मंगलबार पत्रकारका बीच उनलाई बार्सिलोनाको नयाँ खेलाडीका रुपमा घोषणा गरिनेछ । उनलाई बार्सिलोनाले जर्सी नम्बर २५ दिने पनि बताइएको छ । 


टोरेसले सिटीका लागि कुल ४३ खेल खेल्दै १६ गोल गरेका छन् । उनले सिटी आएकै सिजन प्रिमियर लिग र लिग कप जित्न सफल भए । तर यो सिजन भने उनका लागि सुखद हन सकिरहेको छैन । लिगका सुरुवाती चार खेल खेलेर दुुई गोल गरेका टोरेस पछिल्लो समय भने मैदानबाहिर छन् । खुट्टाको चोटका कारण अक्टोबरयता टोरेसले खेल्न सकेका छैनन् । 

चोटका बाबजुत पनि टोरेसलाई अनुबन्धन गर्न बार्सिलोना तम्सिएको छ । यसको कारण सजिर्यो अग्वेरोको संन्यास हो । केही साताअघि अग्वेरोले संन्यास लिएपछि बार्सिलोनाको अग्रपंक्तिमा खेलाडीको कमी देखिएको छ ।   
 
 


Author

थप समाचार
x