एफ्कोन युरो जत्तिकै महत्वपूर्ण प्रतियोगिताः प्याट्रिक भिएरा
काठमाडौँ- यसपालिको अफ्रिका कप अफ नेसन्स (एफ्कोन) जनवरी ९ बाट सुरु हुँदैछ । कोभिड–१९ को नयाँ भेररियन्ट ओमिक्रोनको प्रभाव बढिरहँदा पनि एफ्कोन नरोकिने भएको हो । आयोजक क्यामरुन र अफ्रिकी फुटबल महासंघ (सीएएफ)ले एफ्कोन तोकिएकै समयमा सुरु हुने बताइसकेका छन् ।
एफ्कोन आयोजनाको तयारी लगभग सकिँदा क्यामरुनमा कोभिड प्रोटोकल लागू नहुने हो कि भन्ने डरले युरोपका क्लबहरूले चिन्ता जाहेर गरिरहेका छन् । ती क्लबहरूमा आफ्ना खेलाडीहरू कोभिड संक्रमणमा पर्ने हुन् कि भन्ने चिन्ता छ । यस्तोमा इंग्लिस प्रिमियर लिग र स्पेनिस ला लिगाका क्लबहरुले अफ्रिकी खेलाडीहरुलाई रिलिज नगर्ने सम्भावना पछि छ ।
तर प्रिमियर लिगको क्रिस्ट प्यालेसका प्रशिक्षक प्याट्रिक भिएराले आफू खेलाडी रिलिज गर्ने पक्षमा रहेको बताएका छन् । सबैले एफ्कोनको इज्जत गर्नुपर्ने भन्दै उनले आफ्नो क्लबमा भएका अफ्रिकी खेलाडीहरुलाई राष्ट्रिय टिमका लागि खेल्न फुकुवा गरिने प्रष्ट पारेका हुन् ।
‘एफ्कोन खेल्न जान लागेका कुनै पनि खेलाडीलाई रोकिने छैन । एफ्कोन जस्तो प्रीतयोगितालाई हामी सबैले सम्मान गर्नुपर्छ । यो युरो जत्तिकै महत्वपूर्ण छ,’ अफ्रिकी मुलुक डकारमा जन्मिएर पनि फ्रान्सका लागि खेलेका भिएराले भने । उनको टिमबाट चेकौ कियाटे (सेनेगल), विल्फ्रिड जाहा (आइभरी कोस्ट) र जोर्डन आयु (घाना) एफ्कोनका लागि क्यामरुन जाँदैछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया