एएफसी कप छनौट दौडबाट बाहिरियाे आर्मी
काठमाडौँ- आइतबार साँझ सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी एफसी र थ्रीस्टार क्लबले गोलरहित बराबर खेलेका छन् । दशरथ रंगशालामा भएको खेलमा गोल गर्न र सम्पूर्ण तीन अंक बटुल्न नसकेपछि आर्मीले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । आइतबार नै भएको खेलमा बिग्रेड ब्योइजलाई पराजित गर्दै संकटा क्लबले तेस्रो स्थानमाथि कब्जा जमाएको थियो ।
थ्रीस्टारसँग रोकिएकाे आर्मी र शीर्ष दुईका टिमहरुबीचको दूरी पनि बढेको छ । लिग लिडर मछिन्द्र एफसी र दोस्रो स्थानको मनाङ मस्र्याङ्दी क्लबले क्रमशः १४ र १३ अंक बटुलेका छन् । यी दुवै टिमले ६–६ खेल खेलेका छन् । ६ खेल नै खेलेको आर्मीको खातामा भने १० अंक छ । उपाधि होडमा मछिन्द्र र मनाङलाई पछ्याउने अनुमान गरिएको आर्मी चौथो स्थानमा झर्दा संकटाले विभगीय टिमको भन्दा बढी अंक जम्मा गरेको छ । आइतबारको जितसँगै संकटासँग १२ अंक छ । थ्रीस्टारकाे भने ६ खेलबाट ७ अंक भएकाे छ । ललितपुरे क्लब सातौँ स्थानमा छ ।
सातौँ चरणको समाप्तिमा पहिलो स्थानमा रहने टिमले एएफसी कपको छनौट खेल्ने हुँदा शीर्ष टिमहरूबीच प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ । गत सिजनको च्याम्पियन मछिन्द्रसँग एएफसी लाइसेन्स नभएका कारण आर्मीले एएफसी कपको छनौट खेल्न पाएको थियो । लगातार दोस्रो सिजन एएफसी कप छनौटमा सहभागी हुने ध्येयमा रहेको आर्मी र मछिन्द्रको दूरी चार अंकमा पुगिसकेको छ ।
एएफसी कप छनौटमा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनका लागि क्लबहरूबीचको प्रतिस्पर्धा सातौँ चरणमा पनि कडा हुने देखिएको छ । यो चरणमा मछिन्द्र र मनाङ अनिवार्य जितको खोजीमा हुनेछन् । यस्तोमा मछिन्द्रले नेपाल पुलिस क्लबको सामना गर्नेछ । उता मनाङको भेट भने ब्रिगेड ब्योइजसँग हुनेछ । यो खेल पोखरा रंगशालामा हुनेछ । सातौँ चरणमा आर्मीले भने विभागीय डर्बीमा एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया