च्याम्पियन बन्ने दौडमा अब चेल्सी पनिः रोमेलु लुकाकु
काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा आइतबार राति चेल्सीले एस्टन भिल्लालाई ३–१ ले पराजित गर्यो । 'बक्सिङ डे' का दिन जित हासिल गरेपछि चेल्सीको लिग च्याम्पियन बन्ने लक्ष्यमा बल पुगेको छ । यो जितसँगै चेल्सी र लिभरपुलको अंक बराबरी भएको छ । चेल्सीले १९ खेलबाट ४१ अंक बनाएको छ । लिगमा दोस्रो स्थानमा रहेको लिभरपुलले एक खेल कम खेलेको छ ।
आइतबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ६–३ ले पराजित गर्यो । लिगमा १५ औँ जित दर्ता गरेको सिटीले शीर्ष स्थानमाथिको पकड बलियो बनाएको छ । सिटी र लिभरपुल तथा चेल्सीबीचको अंक दूरी ६ अंकको भएको छ ।
भिल्ला पार्कमा भएको खेलमा चेल्सीले दुई गोल पेनाल्टीमा गर्यो । तेस्रो गोल भने रोमेलु लुकाकुले गरे । यो उनको सेप्टेम्बर यताकै पहिलो लिग गोल थियो । संयोगवश उनको पछिल्लो गोल पनि भिल्लाविरुद्ध नै थियो । इन्टर मिलानबाट यसै सिजन चेल्सी फर्किएका लुकाकुले जम्मा चार लिग गोल गर्न सकेका छन् ।
लिगमा ६ खेल चोट र कोभिड–१९ संक्रमणका कारण गुमाएका लुकाकुले चेल्सीमा सोचे अनुरुपको प्रदर्शन गर्न सकिरहेका छैनन् । उनको लय सन्तोषजनक नरहँदा चेल्सीको अग्रपंक्तिको जिम्मा फल्स नाइन र विंगरहरुमा छाडिएको छ ।
लामो समयपछि गोल गर्न सकेपछि लुकाकु प्रसन्न देखिए । ‘यस्तो किसिमको प्रदर्शन आवश्यक थियो,’ लुकाकुको भनाइ थियो । भिल्लाको जितले चेल्सीलाईै लिग होडमा फर्काएको पनि दाबी गरे लुकाकुले । ‘पछिल्ला खेलहरुमा हामीले सोचे जस्तो नतिजा निकाल्न सकिरहेका थिएनौँ । अब भने यो जितले हामीलाई उपाधि दौडमा सामेल गराएको छ । बाँकी सबे खेललाई हामीले फाइनल सरह मान्न आवश्यक छ,’ लुकाकुले भने ।
चेल्सीका प्रशिक्षक थोमस टुकेलले लुकाकुले आउँदा खेलहरूमा बलियो प्रदर्शन गर्ने आशा व्यक्त गरे । चोटका कारण अक्टोबरयता चेल्सीको पहिलो एघारमा पर्न नसकेका लुकाकुको फिटनेसमा सुधार आइरहेको टुकेलको भनाइ थियो । ‘बीचमा उनी घाइते भए । त्यसपछि कोभिड संक्रमणमा परे । अब भने उनी मैदान फर्किएका छन् । आज उनी गेम चेन्सर सावित भए । उनी पहिलो एघारमा पर्न चाहन्छन् । तर यसका लागि केही समय लाग्छ,’ टुकेलले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया