सहिद स्मारक ए डिभिजन लिग
शीर्ष दुईमा मात्र होइन, मिडटेबलमा समेत चर्को प्रतिस्पर्धा
काठमाडौँ- सातदोबाटो युथ क्लब यसै सिजन सहिद स्मारक ए डिभिजन लिगमा बढुवा भएको हो । नवप्रवेशी टिम भएपनि उसले यो सिजन जे जति गर्न सकेको छ, यसले धेरैलाई आश्चर्यचकित बबनाएको हुनुपर्छ । किनभने छैटौँ चरणको समाप्तिमा सातदोबाटो शीर्षस्थानमा छ ।
सातदोबाटो जस्तै ललितपुरे टिम हो, जावलाखेल युथ क्लब । जावलाखेल नेपालको शीर्ष श्रेणीको लिगका लागि नयाँ नाम होइन । फरक फरक पृष्ठभूमि भएका यी दुई टिमले यो सिजनको लिगको सुरुवात पनि फरक फरक तरिकाले गरे । सातदोबाटोले सुरुवाती तीन खेलमा हार नबेहोर्दा जावलाखेल भने अंकको खाता खोल्न सकेको थिएन । तीन खेलमा चार गोल खाँदा एक अंक पनि जोड्न सकेन ।
चौथो चरणमा आइपुग्दा भने स्थिति केही फरक देखियो । सातदोबाटोले लिगमा पहिलो हारको स्वाद चाख्यो । अनि जावलाखेलले भने बिगे्रड ब्योइज क्लबसँग बराबरी खेल्दै पहिलो पटक अंक बटुल्यो । त्यसपछि उसको अपराजित लयले निरन्तरता पायो । पाँचौँ खेलमा जावलाखेलले च्यासल युथ क्लबलाई पराजित गर्यो । उता सातदोबाटोले भने आफ्नो पाँचौँ खेलमा त्रिभुवन आर्मी एफसीसँग १–१ को बराबरी खेल्यो ।
छैटो चरणको खेलमा यी दुई टिम आपसमा भिडे । सोमबार दशरथ रंगशालामा भएको खेलमा बाजी मार्यो, जावलाखेलले । यो खेलमा जावलाखेलका लागि वीपीन कँडेल र निकोलस फर्नान्डेजले एक–एक गोल गरे । ४६ औँ मिनेटमा मैदान प्रवेश गरेका मिडफिल्डरले चार मिनेटपछि नै गोल गरे । अनि ७० औँ मिनेटमा भारतीय खेलाडीले जावलाखेलको दोस्रो गोल गरे ।
सरासर दोस्रो जित हात पारेपछि जावलाखेल नवौँ स्थानमा उक्लेको छ । जावलाखेल र रेलिगेसन क्षेत्रको दूरी अब तीन अंकमा पुगेको छ । १३ औँ स्थानमा रहेको च्यासलको खातामा चार अंक छ । कुल १४ टिम सहभागी लिगको पुच्छारमा फ्रेन्ड्स क्लब छ । उसको खातामा तीन अंक छ ।
पराजित सातदोबाटो भने पाँचौँ स्थानमा छ । उससँग आठ अंक छ । हुन त हिमालयन शेर्पा क्लबको पनि आठ अंक नै छ । तर यी दुई टिमको स्थान गोलभिन्नताले छुट्टयाएको छ । सातौँ, आठौँ र नवौँ स्थानमा रहेका टिमहरुको अंक सात–सात छ । सातौँ स्थानमा थ्रीस्टार क्लब छ भने आठौँ स्थानमा न्युरोड टिम (एनआरटी) छ ।
छैटौँ चरण सकिँदा मछिन्द्र फुटबल क्लब शीर्ष स्थानमा छ । उसले हालसम्म १४ अंक छ । दोस्रो र तेस्रो स्थानमा रहेका मनाङ मस्र्याङ्दी क्लब र संकटा क्लब छन् । मनाङको खातामा १३ अंक छ भने संकटासँग १२ अंक छ । सातौँ चरणको समाप्तिमा पहिलो स्थानमा रहने टिमले एएफसी कप छनौटमा भाग लिन पाउने हुँदा मछिन्द्र र मनाङको प्रतिस्पर्धा कडा बन्दै गएको छ । एएफसी कप छनौटमा नेपालको प्रतिनिधित्व कसले गर्ने भन्ने निक्र्योल अर्को साता हुनेछ ।
आउँदो शनिबार मनाङले आफ्नो घरेलु मैदानमा बिग्रेड ब्योइजसँग प्रतिस्पर्धा गर्दैछ । पोखरा रंगशालामा यो खेल भएको एक दिनपछि मछिन्द्र र नेपाल पुलिस क्लब दशरथ रंगशालामा भिड्नेछन् । एएफसी कप छनौटमा स्थान पक्का गर्न मछिन्द्रलाई अनिवार्य जित चाहिएको छ । मनाङको हकमा भने जितले मात्रै पुग्दैन । उसले जित्दा मछिन्द्र कमसेकम बराबरमा रोकिनुपर्छ ।
छैटौँ चरण सकिँदा शीर्ष स्थानका लागि भइरहेको दौड थप पेचिलो हुने संकेत त देखा परेकै छ, रेलिगेसनबाट बच्नका लागि हुने प्रतिस्पर्धा पनि रोमाञ्चक हुने देखिएको छ । यसको कारण भनेको टिमहरुबीचको दूरी लामो नहुनु हो । अंक तालिकाको मध्यभागमा रहेका टिमसमेत रेलिगेसनबाट पूर्ण सुरक्षित भइसकेका छैनन् । उदाहरणका लागि, सातौँ स्थानको थ्रीस्टार र १३ औँ स्थानको च्यासलबीचको फरक तीन अंकको मात्रै छ ।
अनि अंक तालिकाको मध्यभागमा रहेका टिम र पाँचौँ स्थानको दूरी पनि लामो छैन । पाँचौँ स्थानमा रहेको सातदोबाटो र नवौँ स्थानको जावलाखेलको दूरी एक अंकको छ । यस्तोमा अंक तालिकाको फाइनल स्वरुपबारे अहिले नै अनुमान गर्ने बेला भइसकेको छैन । फेरि अहिलेका लागि सबैको ध्यान लिग च्याम्पियन को बन्ला भन्दा पनि एएफसी कप छनौटका लागि को छानिएला भन्नेमै छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया