फुटबल

सिटीलाई च्याम्पियन बन्‍न‍ लिभरपुलले बाटो खोलिदियोः योर्गन क्लप

इकागज |
पुस १४, २०७८ बुधबार १२:५७ बजे

काठमाडौँ- लिभरपुलले इंग्लिस प्रिमियर लिगमा मंगलबार राति लेस्टर सिटीसँग पराजय भोग्यो । लिभरपुललाई पराजित गर्न लेस्टरका लागि एडेमोला लुकमनले गोल गरे । लिभरपुलका लागि यो जारी सिजनको दोस्रो हार हो । यसअघि लिभरपुललाई वेस्टह्यामले पराजित गरेको थियो । 

यो सिजनको प्रिमियर लिगका लगभग आधा खेल सकिएका छन् । सन् २०२० सकिनै लाग्दा म्यानचेस्टर सिटी अंक तालिकाको शीर्ष स्थानमा छ । उसले १९ खेलबाट ४७ अंक बनाएको छ । यस्तोमा लेस्टरसँगको हारले दोस्रो स्थानको लिभरपुल र लिग लिडरबीचको दूरी ६ अंकको भएको छ । अनि चेल्सीको पनि ४१ अंक नै छ । 


लेस्टरसँग हारेपछि निराश बनेका लिभरपुलका प्रशिक्षक योर्गन क्लपले आफ्नो टिमले निराशजनक प्रदर्शन गरेको प्रतिक्रिया दिए । उनले आफ्नो टिमले सिटीलाई च्याम्पियन बन्‍न बाटो खोलिदिएको पनि बताए । 

‘सिटी र हाम्रोबीचको दूरी बढेको छ । फेरि अबको खेलमा हामीले बलियो चेल्सीको सामना गर्नुछ । सिटीलाई सजिलै लिग जित्न दिने हाम्रो उदेश्य होइन । हामीले आउँदा खेलहरुमा पनि यसरी नै खेल्ने हो भने सिटीलाई भेट्न सकिने छैन । तर यदि हामीले स्वभाविक लय समात्ने हो भने अवस्था फरक हुनसक्छ,’ क्लपले भने ।

सिटीले यो साता फेरि पनि अग्रता बढाउन सक्छ । किनभने सिटीले बिहीबार राति ब्राइटनसँग खेल्ने तालिका छ । अनि शनिबार उसको भेट आर्सनलसँग हुँदैछ । लिभरपुलले भने आइतबार मात्रै चेल्सीको सामना गर्नेछ । यसकारण दोस्रो र तेस्रो स्थानमा रहेका दुई टिम प्रतिस्पर्धामा उत्रनुअघि नै सिटीले १२ अंकको अग्रता बनाउन सक्नो सम्भावना पनि छ । 

‘हामीले असाध्यै नराम्रो खेल्यौँ । लेस्टरका अघि हामी कमजोर सावित भयौँ । हाम्रो खेलाडीहरुको प्रदर्शनप्रति मलाई चित्त बुझेन । यस्तो कसरी भयो, किन भयो, मलाई थाहा छैन,’ क्लपले भने । जर्मन प्रशिक्षक क्लपले पेनाल्टीमा गोल गर्न चुकेका मोहम्मद सलाहको पनि बचाउ गरे । ‘यसअघि उनले पेनाल्टीमा गोल गरिरहेकै हुन् । यसपटक उनी चुके । तर हामी उनको आलोचना गर्न चाहँदैनौैँ । उनी यो टिमको हिस्सा हुन् । यसपालि पूरै टिमले राम्रो खेलेन,’ क्लपले भने । 


 


Author

थप समाचार
x