फुटबल

बार्सिलोनाले किन रोज्यो टोरेसलाई?

इकागज |
पुस १४, २०७८ बुधबार १५:१९ बजे

काठमाडौँ- फेरान टोरेस अन्ततः घर फर्किएका छन् । १६ महिनाअघि भ्यालेन्सियाबाट म्यानचेस्टर सिटीसँग आबद्ध भएका टोरेस मंगलबार स्पेन फर्किएका हुन् । २१ वर्षीय विंगरले बार्सिलोनासँग पाँच वर्षका लागि अनुबन्ध गरेका छन् । यसको पुष्टि बार्सिलोनाले मंगलबार राति गर्‍यो । 

टोरेसको बार्सिलोनातर्फको स्थान्तरण पूरा भए पनि उनी जनवरी १ मा मात्रै क्याट्लन क्लबको खेलाडीका रुपमा दर्ता हुनेछन् । ‘एफसी बार्सिलोना र म्यानचेस्टर सिटीबीच फेरान टोरेसको स्थाथान्तरणका विषयमा सहमति भएको छ । टोरेस बार्सिलोनासँग जुन ३०, २०२७ सम्मका लागि अनुबन्धित भएका छन्,’ बार्सिलोनाले भनेको छ । 


सिटीले टोरेसलाई अगस्ट, २०२० मा अनुबन्ध गरेको थियो । उनका लागि इंग्लिस च्याम्पियनले भ्यालेन्सियालाई दुई करोड पाउन्ड तिरेको थियो । सिटीमा रहँदा टोरेसले कुल ४३ खेल खेलेर १६ गोल गरे । र प्रिमियर लिग तथा लिग कप उपाधि जिते । 

बार्सिलोनाले किन रोज्यो टोरेसलाई? 
पछिल्लो समय बार्सिलोनामा आक्रामक खेलाडीको अभाव महशुस गरिएको छ । यसको कारण लियोनल मेस्सी र एन्टोइन ग्रिजमनको बर्हिगमन हो । यी दुवै खेलाडीले गत सरुवा बजारमा बार्सिलोना छाडेका हुन् । सिटीबाटै ल्याइएका सर्जियो अग्वेरोले संन्यास लिएपछि बार्सिलोना थप समस्यामा परेको हो । 

मेस्सी र ग्रिजमनले क्लब छाडेपछि बार्सिलोनाले अग्वेरो र मेम्पिस डिपे भित्र्याएको थियो । तर अग्वेरोको अनुपस्थितिमा थप जिम्मेवरी बहन गर्नुपर्ने बाध्यतामा रहेका डिपेको लय पनि सन्तोषजनक देखिएको छैन । यसैकारण प्रशिक्षक जाभी हर्नान्डेजले नयाँ फरवार्डको खोजी गरिरहेका थिए । 

यस्तोमा जाभीले टोरेसलाई रोजेका हुन् । स्पेनी ला लिगामा भिजिसकेको खेलाडी भएकाले टोरेसलाई रोजिएको हो । भ्यालेन्सिया एकेडेमीका उत्पादन टोरेसले सिनियर टिमबाट तीन सिजन खेलेका थिए । तीन सिजनभरीमा कुल ९७ लिग खेल खेलेका टोरेसले नौ गोल तथा १२ असिस्टको योगदान गरेका थिए । 


Author

थप समाचार
x