म रियल मड्रिड तत्काल जादिँनः एमबाप्पे
काठमाडौँ- किलियान एमबाप्पेको पेरिस सेन्ट जर्मेन (पीएसजी)सँगको सम्झौता जारी सिजनको अन्त्यमा सकिँदैछ । सम्झौता नवीकरणका लागि दुई पक्षबीच सहमति नभइसकेको अवस्था छ । यस्तोमा एमबाप्पेले यही जनवरी सरुवा बजारमा नयाँ क्लब रोज्ने सम्भावना रहेको अनुमान गरिँदैछ । एमबाप्पेको सम्भावित नयाँ क्लबका रुपमा रियल मड्रिडलाई प्रस्तुत गरिएको छ । जनवरीमा नभए आउँदो जुलाई वा अगस्टमा उनी स्पेन जाने चर्चा पनि छ । एमबाप्पेले ‘समर ट्रान्सफर विन्डो’का लागि जनवरी १ बाटै अर्को क्लबसँग कुरा गर्न पाउनेछन् ।
तर हालै एमबाप्पेले आफू यो सिजन पीएसजीमै रहने प्रष्ट पारेका छन् । ‘यो सिजन म पीएसजीमै रहेर पूरा गर्नेछु । आउँदो जनवरीमा म रियल जाने पक्षमा छैन । हुन त यो समय मेरो भविष्यबारे छलफल गर्ने उपयुक्त समय होइन,’ एमबाप्पेले भनेका छन् ।
जारी सिजनको सुरुवातमा एमबाप्पेले रियल जाने इच्छा व्यक्त गरेका थिए । तर अन्ततः उनको इच्छा पूरा भएको भएन । ‘त्यसबेला मैले आफ्नो भावना व्यक्त गरे । तर पेरिसमै रहँदा पनि म खुशी नै छु् । किनभने यो मेरो सहर हो । म यही जन्मेको हुँ । यो सहर, पीएसजी र तमाम समर्थकलाई म सम्मान गर्छु । म पीएसजीबाट बढी भन्दा बढी उपाधि जित्न चाहन्छु । सम्झौता अनसुार म पीएसजीमा थप ६ महिना रहनेछु । यो समयमा म पीएसजीका लागि बलियो प्रदर्शन गर्न चाहन्छु,’ एमबाप्पेले अमेरिकी टेलिभिजन च्यानल सीएनएनसँग भनेका छन् ।
गत सिजन फ्रेन्च लिग वानको उपाधि जित्न नसकेको पीएसजी यसपटक भने बलियो देखिएको छ । १९ खेलको समाप्तीमा पीएसजी शीर्ष स्थानमा छ । उसले ४६ अंक बटुल्दा दोस्रो स्थानको निसको खातामा ३३ अंक छ । पीएसजी र दोस्रो स्थानको निसबीचको दूरी १३ अंकको रहँदा एमबाप्पेले नौ गोल तथा आठ असिस्टको योगदान गरिसकेका छन् ।
पीएसजीेले घरेलु लिग जित्ने सम्भावनालाई बलियो त बनाएकै छ, च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ । च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलमा पीएसजीको भेट रियलसँग हुनेछ । यसका लागि आफूहरू तयार रहेको एमबाप्पेले बताएका छन् ।
‘दुई वर्षअघि हामी च्याम्पियन्स लिगका फाइनल पुगेका थियौँ । गत सिजन हाम्रो यात्रा सेमिफाइनलमै टुंगियो । यसपालि भने हामीले यो प्रतियोगिता जित्नै पर्नेछ,’ एमबाप्पेले भने । उनले लियोनल मेस्सीसँग खेल्न पाउँदाको अनुभूति पनि व्यक्त गरेका छन् । ‘मेस्सीसँग एउटै टिमबाट खेल्न पाउनु अहोभाग्य हो । भविष्यमा साथीहरूलाई, आफ्नै सन्तानहरूलाई मैले मेस्सीसँग खेलेको भनेर सुनाउन पाउनेछु । मेस्सीको पीएसजी अनगमन ऐतिहासिक हो,’ एमबाप्पेको भनाइ थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया