चेल्सी र लिभरपुल पनि लिग जित्न सक्षम छन्ः पेप ग्वार्डिओला
काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा पछिल्ला १० खेलमा अपराजित छ, म्यानचेस्टर सिटी । बुधबार राति ब्रेन्टफोर्डलाई १–० ले हराएको सिटी जारी सिजनमा जम्मा दुई खेलमा मात्रै पराजित भएको छ । कुल २० खेल खेल्दा सिटीले १६ जित दर्ता गरेको छ भने दुई खेलमा बराबरीमा रोकिएको छ ।
बलियो लयमा रहेको सिटी ५० अंकसहित शीर्ष स्थानमा छ । उसको र दोस्रो स्थानमा रहेको चेल्सीबीचको दूरी आठ अंकको छ । गत बुधबार लिभरपुल लेस्टरसँग पराजित भएपछि चेल्सीसँग दोस्रो स्थानमाथिको पकड बलियो बनाउने र लिग लिडरसँगको दूरी घटाउने मौका थियो । तर चेल्सीले यो मौका गुमायो । किनभने बुधबार राति थोमस टुकेलको टिमलाई ब्राइटनले बराबरीमा रोक्यो ।
सिटी र दोस्रो तथा तेस्रो स्थानमा रहेका टिमहरुबीचको दूरी बढ्दै गर्दा पेप ग्वार्डिओलाको टिमले उपाधि रक्षा गर्ने सम्भावना बढेको छ । तर ग्वार्डिओलाले उपाधि दौड निर्णायक मोडमा पुगिनसकेको बताएका छन् ।
‘लिगमा धेरै खेल बाँकी नै छ । हो हामी आठ अंकले अगाडि छौँ तर तीन टिमले ५४ खेल खेल्न बाँकी छ । यसकारण उपाधि दौड सकिएको छैन । हामीलाई चेल्सी र लिभरपुलले पछ्याइरहेका छन् । यी दुवै टिम असाध्यै बलिया छन् । चेल्सी च्याम्पियन्स लिग विजेता हो । अनि लिभरपुल पछिल्ला तीन–चार वर्षयताको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी हो । यी दुई टिम लिग जित्न सक्षम छन्,’ ग्वार्डिओलाले भनेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया