चेल्सीले प्रिमियर लिग जित्न सक्छ भनेर सोच्नु मूर्खता होः थोमस टुकेल
काठमाडौँ- ड्यानी वेलब्याकले आतिरिक्त समयमा गोल गरेपछि ब्राइटनले चेल्सीलाई बुधबार राति १–१ को बराबरीमा रोक्न सफल भयो । स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले अग्रता लिएको थियो । रोमेलु लुकाकुले २८ औँ मिनेटमा गोल गरेपछि चेल्सी खेलमा अघि बढेको थियो । तर म्यानचेस्टर युनाइटेडका पूर्वफरवार्ड वेलब्याकले बराबरी गोल गरेपछि चेल्सीले इंग्लिस प्रिमियर लिगमा छैटौँ बराबरी खेल्यो ।
बराबरीपछि चेल्सी दोस्रो स्थानमा छ । उसको २० खेलबाट ४२ अंक भएको छ । चेल्सी र लिग लिडर म्यानचेस्टर सिटीबीचको दूरी आठ अंकको भएको छ । यसैगरी तेस्रो स्थानको लिभरपुलको खातामा १९ खेलबाट ४१ अंक छ ।
सिजनको सुरुवात बलियो ढंगले गरेको चेल्सीले पछिल्लो समय भने सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन । चेल्सीले पछिल्ला चार खेलमध्ये एकमा मात्रै जित हासिल गरेको छ । यस्तोमा चेल्सीका प्रशिक्षक थोमस टुकेल निराश देखिएका छन् । उनले आफ्नो टिम उपाधि दौडमा नरहेको प्रतिक्रिया दिएका छन् ।
‘हाम्रा सात खेलाडी कोभिड संक्रमित छन् । अन्य सात खेलाडी करिब ६ सातका लागि टिमबाहिर छन् । यस्तो स्थितिमा हामीले कसरी उपाधिका लागि प्रतिस्पर्धा गर्ने ?,’ टुकेलले प्रश्न गरे । अन्य टिमलाई कोभिडले खासै असर नगरेको र घाइते खेलाडीको संख्या कम रहेको पनि टुकेलको जिकिर गरे ।
‘लिग उपाधिका लागि चेल्सीले प्रतिस्पर्धा गर्नसक्छ भनेर सोच्नु मूर्खता हो । हामी कोभिडको मारमा परेका छौँ । यसमाथि धेरै खेलाडी घाइते छन् । हाम्रा २३ खेलाडी उपलब्ध छैनन् । यस्तो अवस्थासँग जुध्नु छ । हामी हालको भन्दा राम्रो खेल्न सक्छौँ । तर टिमका सबै खेलाडी उपलब्ध भए मात्रै,’ टुकेलले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया