डेम्बेलेको सम्भावित गन्तव्य चेल्सी
काठमाडौँ- औसमाने डेम्बेले अगस्ट, २०१७ मा बार्सिलोनासँग आबद्ध भएका थिए । क्याट्लन क्लबसँगको उनको सम्झौता आउँदो जुुनमा सकिँदैछ । सम्झौता नवीकरणका लागि केही समययता डेम्बेले र बार्सिलोना छलफलमा थिए । तर छलफलमा दुई पक्षबीच सहमति हुन नसकेको खबर बाहिर आएको छ ।
बेलायती वेबसाइट गोल डटकमका अनुसार डेम्बेले र बार्सिलोनाबीचको कुराकानी टुंगिएको छ । छलफलले कुनै निक्र्योल नदिइएको गोलको रिपोर्टमा उल्लेख छ । यसकारण फ्रेन्च फरवार्डले ‘समर ट्रान्सफर विन्डो’मा बार्सिलोना छाड्ने सम्भावना बढेको छ ।
सम्झौता नवीकरणका लागि भएको छलफलमा डेम्बेलेले अधिक तलब माग गरेको बताइएको छ । डेम्बेलेको मागमा बार्सिलोना सहमत हुन नसकेको गोलले लेखेको छ । अब डेम्बेलेले जनवरी १ पछि अर्को क्लबसँग सम्भावित स्थान्तरणका लागि छलफल गर्न सक्नेछन् ।
डेम्बेलेले बार्सिलोना छाड्ने सम्भावना बढिरहँदा जाभी हर्नान्डेजले भने आफूले २४ वर्षीय विंगरलाई क्लबमा राख्न चाहेको अभिव्यक्ति दिएका छन् । ‘उनी बार्सिलोनामै रहुन् भन्ने हाम्रो अपेक्षा हो । हाम्रा टिमका लागि उनको उपस्थिति महत्वपूर्ण छ,’ जाभीले भनेका छन् ।
बोरुसिया डर्टमन्डबाट बार्सिलोना पुगेका डेम्बेलेले त्यहाँ १२६ खेल खेलेका छन् । ती खेलमा उनले ३० गोल गर्दै २३ असिस्ट दर्ता गरेका छन् । यो सिजन भने उनले बार्सिलोनाका लागि आठ खेल खेलेका छन् । गोलको खाता खोल्न नसकेका उनले दुई असिस्टको योगदान भने गरेका छन् । प्रतिभावान् खेलाडी भए पनि डेम्बेलेले बार्सिलोनामा आफूलाई प्रमाणित गर्न सकेका छैनन् । यसको कारण उनको फिटनेस हो ।
बार्सिलोनाबाट डेम्बेले कता जालान् भन्ने अनुमान सुरु भएको छ । स्पेनको अखबार मुन्डो डिपोर्टिभोका अनुसार इंग्ल्यान्डको चेल्सी डेम्बेलेलाई अनुबन्ध गर्न चाहन्छ । चेल्सी प्रशिक्षक थोमस टुकेललाई डेम्बेले मनपर्ने भएकाले यो स्थान्तरण सम्भव हुनसक्ने बताइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया