डिपेलाई बेचेर मोराटा खरिद गर्ने योजनामा बार्सिलोना
काठमाडौँ- युरोपमा क्लब फुटबलको सरुवा बजार जनवरी १ देखि खुल्दैछ । यसकारण खेलाडीहरूको स्थान्तरण चर्चा सुरु भइसकेको छ । बार्सिलोनाले त फेरान टोरेसलाई अनुबन्धन नै गरिसकेको छ । क्याट्लन क्लबले इंग्ल्यान्डको म्यानचेस्टर सिटीबाट टोरेसलाई भित्र्याएको हो । तर बार्सिलोना यतिमै नरोकिने भएको छ ।
पछिल्लो खबर अनुसार बार्सिलोनाले अल्भारो मोराटालाई अनुबन्धन गर्ने इच्छा राखेको बताइएको छ । गोल डटकमका अनुसार बार्सिलोना मेम्फिस डिपेलाई बेचेर मोराटा खरिद गर्न चाहन्छ । मोराटा हाल युभेन्टसमा छन् । उनी एट्लेटिको मड्रिडबाट ‘लोन’मा इटालियन क्लब गएका हुन् ।
मोराटा सेप्टेम्बर, २०२० देखि युभेन्टसमा छन् । त्यहाँ उनले जुन, २०२२ सम्मका लागि सम्झौता गरेका छन् । तर सम्झौता सकिनु ६ महिनाअघि नै उनी स्पेन फिर्ता हुने हल्ला छ । यही मौका छोपेर बार्सिलोनाले रियल मड्रिड तथा चेल्सीका पूर्वस्ट्राइकर मोराटालाई अनुबन्ध गर्न चाहेको हो ।
मोराटा बार्सिलोनासँग अनुबन्धित हुँदा डिपे भने बाहिरिने छन् । डिपेलाई युभेन्टस पठाएर मोराटा भित्र्याउने दाउमा बार्सिलोना छ । तर युभेन्टसले डिपेबारे निर्णय लिइनसकेको बताइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया