आर्सनलको जित लयमा ब्रेक लगाउने दाउमा सिटी
काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा शनिबार साँझ म्यानचेस्टर सिटीले आर्सनलको सामना गर्दैछ । आर्सनलको मैदान इमिरेट्समा हुने खेल जिते सिटीले शीर्ष स्थानमाथिको पकड थप बलियो बनाउनेछ । लिग लिडर सिटी हाल दोस्रो स्थानको चेल्सीभन्दा आठ अंकले अगाडि छ ।
दोस्रो स्थानको चेल्सी र तेस्रो स्थानको लिभरपुल आइतबार राति भिड्ने हुँदा सिटी एक दिनअघि जित हात पारेर सहज अवस्थामा रहन चाहन्छ । हुन त आर्सनलसँगको खेल सिटीका लागि उति सजिलो नहुन सक्छ । यसको कारण आर्सनलको वर्तमान लय हो ।
आर्सनलले पछिल्ला चार लिग खेलमा जित हात पारेको छ । चौथौ स्थानमा रहेको आर्सनलले १९ खेलबाट ३५ अंक जम्मा गरिसकेको छ । पछिल्लो खेलमा नर्विच सिटीविरुद्ध पाँच गोल गरेको आर्सनलले शीर्ष तीनमा रहेका लिभरपुल र चेल्सीमाथि दबाब सिर्जना गर्ने प्रयास गरिरहेको छ । हुन त आर्सनलको चौथौ स्थान नै पनि सुरक्षित छैन । उसलाई वेस्टह्याम र म्यानचेस्टर युनाइटडले पछ्याइरहेका छन् । आर्सनल र यी दुई टिमबीचको दूरी चार अंक छ ।
गएको मंगलबार आर्सनलको उल्भरह्याम्पटनसँगको खेल स्थगित भएको थियो । उल्भरह्याम्पटनका कयौँ खेलाडी कोभिड संक्रमणमा परेपछि सो खेल रोकिएको हो । आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा आफैँ पनि कोभिड संक्रमणमा परेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया