मनाङ शीर्ष स्थानमा उक्लिएपछि दबाबमा मछिन्द्र
काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिगको सातौँ चरण सकिँदा शीर्ष स्थानमा रहने टिमले एएफसी कप छनौटमा नेपालको प्रतिनिधित्व गर्नेछ । त्यसका लागि हाल दुई टिम प्रतिस्पर्धामा छन् । यो प्रतिस्पर्धामा रहेको मनाङ मस्र्याङ्दी क्लबले सातौँ चरणको आफ्नो खेलमा शनिबार जित हासिल गरेको छ ।
पोखरा रंगशालामा भएको खेलमा मनाङले ब्रिगेड ब्योइज क्लबलाई १–० ले पराजित गर्यो । मनाङको जितमा कप्तान अन्जन विष्टले गोल गरे । यो जितसँगै मनाङको १६ अंक भएको छ । र उ पहिलो स्थानमा उक्लेको छ । दोस्रो स्थानमा झरेको मछिन्द्रको भने ६ खेलबाट १४ अंक छ ।
मनाङले आफ्नो खेलमा जित दर्ता गरेपछि मछिन्द्र दबाबमा परेको छ । मछिन्द्रले आफ्नो सातौँ खेलमा नेपाल पुलिस क्लबको सामना गर्ने तालिका छ । यो खेलमा मछिन्द्रले अनिवार्य जित हासिल गर्नुपर्नेछ । मछिन्द्रले अंक गुमाए मनाङ एएफसी कप छनौटका लागि स्वतः छानिनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया