सहिद स्मारक ए डिभिजन लिग
दोस्रो स्थानमा उक्लिने मौका गुमाएको संकटाकाे अपराजित लय
काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिगमा शनिबार रेलिगेसन क्षेत्रमा रहेको च्यासल युथ क्लबले शीर्ष तीनभित्र रहेको संकटा क्लबलाई गोलरहित बराबरीमा रोेकेको छ । जारी लिगमा जम्मा एक जित दर्ता गरेको च्यासलका लागि यो दोस्रो बराबरी हो । उता संकटाका लागि भने यो चौथौ बराबरी हो ।
दशरथ रंगशालामा च्यासलसँग रोकिएपछि संकटाले दोस्रो स्थानमा उक्लिने मौका गुमायो । च्यासललाई हराएको भए संकटाको खातामा सात खेलबाट १५ अंक हुने थियो । जुन हाल दोस्रो स्थानमा रहेको मछिन्द्र क्लबको भन्दा एक अंकले धेरै हुन जान्थ्यो । तर बराबरीपछि संकटाकाे १३ अंक छ ।
दोस्रो स्थानमा पुग्ने मौका खेर फाले पनि संकटाका लागि खुशीको खबर पनि छ । त्यो भनेको संकटाको अपराजित यात्राको निरन्तरता हो । लिगमा तीन जित हात पारेको संकटा सातौँ चरणसम्म अपराजित छ । लिगमा संकटा जस्तै अपराजित रहनेमा अन्य दुई टिम पनि छन् । ती हुन्, मछिन्द्र र त्रिभुवन आर्मी क्लब ।
शनिबार नै भएको अर्को खेलमा मनाङ मस्र्याङ्दी क्लबले ब्रिगेड ब्योइज क्लबलाई १–० ले हरायो । यो नतिजासँगै मनाङ शीर्ष स्थानमा पुगेको छ । उसको र दोस्रो स्थानको मछिन्द्रको दूरी दुई अंकको छ । मछिन्द्रले आइतबार नेपाल पुलिस क्लबको सामना गर्दैछ । यो खेल जिते मछिन्द्र पहिलो स्थानमा पुग्दै एएफसी कप छनौटका लागि छानिनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया