इंग्लिस प्रिमियर लिग राउन्ड–अप
सिटीले लियो ११ अंकको अग्रता; चौथो स्थानका लागि आर्सनल, वेस्टह्याम र टोटनहमबीच तीव्र प्रतिस्पर्धा
काठमाडौँ- इंग्लिस प्रिमियर लिगको उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले शीर्ष स्थान र दोस्रो स्थानबीचको दूरी ११ अंक कायम गरेको छ । शनिबार साँझ आर्सनललाई २–१ ले पराजित गरेपछि सिटीले पहिलो स्थानमाथिको पकड थप बलियो बनाएको हो । सिटीको खातामा २१ खेलबाट ५३ अंक भएको छ ।
दोस्रो स्थानमा रहेको चेल्सीसँग २० खेलबाट ४२ अंक छ । तेस्रो स्थानमा रहेको लिभरपुलको भने ४० अंक छ । लिभरपुलले १९ खेल मात्रै खेलेको छ । आफ्नो २० औँ खेलमा लिभरपुलले आइतबार राति चेल्सीको सामना गर्दैछ । स्टाम्फोर्ड ब्रिजमा हुने खेलमा लिभरपुलका प्रशिक्षक योर्गन क्लप अनुपस्थित रहनेछन् । उनलाई कोभिड–१९ संक्रमण भएको छ । प्रशिक्षक क्लप मात्रै होइन लिभरपुलका तीन खेलाडी पनि टिममा हुने छैनन् । कोभिड संक्रमणमा परेका यी खेलाडीहरूको परिचय भने लुकाइएको छ ।
आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा पनि कोभिड संक्रमणमा परेका छन् । यसैकारण आर्टेटा सिटीविरुद्धको खेलमा उपस्थित थिएनन् । यद्यपि आर्सनलले सिटीविरुद्ध पहिले अग्रता लिएको थियो । इमिरेट्स रंगशालामा भएको खेलमा बुकायो साकाले ३१ औँ मिनेटमा गोल गरेर घरेलु टिमलाई अघि बढाएका थिए ।
दोस्रो हाफमा भने सिटी खेलमा फर्कियो । रियाद माहरेजले ५७ औँ मिनेटमा पेनाल्टीमा गोल गरेपछि खेल १–१ को स्थितिमा पुगेको थियो । सिटीलाई पेनाल्टी दिएपछि आर्सनलका खेलाडीहरुले विरोध गरेका थिए । खेल बराबरीमा पुगेको केही समयपछि नै आर्सनलले अग्रता स्थापित गर्ने मौका पाएको थियो । तर गाब्रियल मार्टिनेलीले मौका गुमाए । त्यसको एक मिनेटपछि नै आर्सनलले गाब्रियल मागमलेसलाई गुमायो । उनले रातो कार्ड खाँदै मैदान छाड्नु पर्यो ।
१० खेलाडीमा सीमित आर्सनलले सिटीलाई ९० मिनेटसम्म त रोक्यो । त्यसपछि भने रोक्न सकेन । आतिरिक्त समयमा रोड्रीले निर्णायक गोल गरे । जुन सिटीका लागि जारी लिगमा १७ औँ जित दर्ता गर्न पर्याप्त रह्यो ।
शनिबार राति नै भएको अर्को खेलमा वेस्टह्याम युनाइटेडले क्रिस्टल प्यालेसमाथि ३–२ को जित हात पार्यो । वेस्टह्यामले सबै गोल पहिलो हाफमा गरेको थियो । मिचेल एन्टोनियोले वेस्टह्यामको पहिलो गोल गरेका थिए । लगत्तै तीन मिनेटपछि म्यानुएल लान्जिनीले वेस्टह्यामलाई २–० को स्थितिमा पु¥याए । पहिलो हाफको उत्तर्राद्धमा उनै लान्जिनीले व्यत्तिगत दोस्रो र वेस्टह्यामको तेस्रो गोल गरे ।
आफ्नै मैदानमा ३–० ले पछाडि परेको प्यालेसले दोस्रो हाफमा दुई गोल फर्कायो । उसका लागि ओडोसोने एडोवार्डले ८३ औँ मिनेटमा गोल गरे भने माइकल ओलिसेले अर्को गोल गरे । योजितसँगै वेस्टह्यामले चौथो स्थानसँगको दूरी घटायो । चौथो स्थानमा रहेको आर्सनलको २० खेलबाट ३५ अंक छ भने वेस्टह्यामको खातामा ३४ अंक छ ।
आर्सनल र वेस्टह्यामसँगै चौथो स्थानका लागि प्रतिस्पर्धामा रहेको टोटनहमले पनि शनिबार जित दर्ता गर्यो । डाभिन्सन सान्चेजले ९६ औँ मिनेटमा गोल गरेपछि टोटनहमले वाटफोर्डलाई १–० ले पराजित गर्यो । एन्टोनियो कोन्टेको नेतृत्वमा सुधारिएको प्रदर्शन गरिरहेको टोटनहम पछिल्ला आठ लिग खेलमा अपराजित छ । र आर्सनलमाथि दबाब सिर्जना गरिरहेको छ । आर्सनल, वेस्टह्याम र टोटनहमलाई एक–एक अंकले छुट्याएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया