मछिन्द्र फुटबल क्लबः नेपालमा प्रमाणित, अब पालो महादेसीय परीक्षाको
काठमाडौँ- गत सिजन सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन बनेको क्लब हो, मछिन्द्र । तर एएफसी लाइसेन्स नभएकाले उसले एएफसी कप छनौट खेल्ने मौका गुमायो । मछिन्द्रको सट्टा लाइसेन्स भएको र लिग उप–विजेता बनेको क्लब त्रिभुवन आर्मी एफसीले एसियाली क्लब फुटबलमा दोस्रो श्रेणीको मानिने एएफसी कपको छनौटमा पाइला राख्ने अवसर प्राप्त गर्यो ।
यसपालि भने मछिन्द्रले नै एएफसी कपको छनोट खेल्ने भएको छ । अन्य तीन क्लबसँगै एएफसी लाइसेन्स लिएको मछिन्द्र लिगको सातौँ चरणको समाप्तीमा शीर्ष स्थानमा रहेकाले एएफसी कप छनौटका लागि छनौट भएको हो । मछिन्द्रले सातौँ चरणको आफ्नो खेलमा आइतबार साँझ नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्यो ।
लिगमा सात चरणका खेल सकिँदा मछिन्द्रले १७ अंक बनाएको छ । मछिन्द्र जस्तै लिग उपाधिको दाबेदार मानिएको मनाङ मस्र्याङ्दी क्लब दोस्रो स्थानमा छ । मनाङको खातामा १६ अंक छ । यी दुईलाई टक्कर दिने ठानिएको टिम आर्मी भने चौथो स्थानमा छ । उससँग ११ अंक छ । आर्मीको भन्दा दुई अंक बढी भएको संकटा क्लब तेस्रो स्थानमा छ ।
मछिन्द्रलाई महादेसीय प्रतियोगितामा पुर्याउन सुनिल बल निर्णायक सावित भए । एक खेलमा मात्रै होइन, लगातार दुई खेलमा उनले निर्णायक गोल गरे । फेरि यी दुवै खेल मछिन्द्रका लागि निर्णायक थिए । सुनिलले यसअघि मनाङविरुद्ध पनि गोल गरेका थिए । छैटौँ चरणको सोही खेल जितेपछि एएफसी कप छनौटको एक कदम नजिक पुगेको थियो मछिन्द्र ।
लिग छैटौँ चरणमा पुग्दा ‘ड्राइभिङ सिट’मा मनाङ थियो । किनभने उ मछिन्द्रभन्दा दुई अंकले अगाडि थियो । मछिन्द्रको खातामा भने ११ अंक थियो । यो खेल जितेमा मनाङ एएफसी कप छनौटतर्फ अघि बढ्ने थियो । यसकारण यो खेल जारी लिगकै सर्वाधिक महत्वपूर्ण थियो । सायद सबैभन्दा ठूलो भिडन्त पनि । किनभने पछिल्ला दुई सिजनका च्यम्पियनद्वय आमनेसामने हुँदै थिए ।
दशरथ रंगशालामा भएको खेलको निर्धारित ९० मिनेट सकिनै लाग्दा पनि नतिजा आएन । खेलमा केही मिनेट थपिँदै थियो । त्यत्तिकैमा मछिन्द्रले फ्रिकिक पायो । १८ यार्ड बक्सको छेउमै सुनिल बललाई प्रवेश कुँवरले फाउल गरेपछि मछिन्द्रले फ्रिकिकको अवसर पायो । सुनिलले प्रिकिक प्रहार गर्नै लाग्द पाँच मिनेट आतिरिक्त समय थप गरियो ।
लिगमा बलियो लयमा रहेका सुनिलले आर्कषक गोल गरे । र खेल मछिन्द्रले जित्यो । जितसँगै अंक तालिकाको पहिलो स्थानमाथि कब्जा पनि जमायो । जितका बाबजुद पनि मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटवाल फुर्किएनन् । किनभने उनलाई थाहा थियो, अर्को निर्णायक खेल पनि बाँकी नै थियो ।
सातौँ चरणको आफ्नो खेलमा मनाङले स्वभाविक जित हासिल गर्यो । पोखरा रंगशालामा भएको खेलमा मनाङले ब्रिगेड ब्योइजलाई सजिलै पन्छायो । जितपछि मनाङ फेरि शीर्ष स्थानमा फर्कियो । उसको खातामा १६ अंक जम्मा भयो । मनाङको जितले स्वभाविक रुपमा मछिन्द्र दबाबमा पर्ने नै भयो । किनभने सातौँ खेलमा बराबरीमा मात्रै रोकिए पनि मछिन्द्रलाई एएफसी कप छनौटको होडबाट बाहिर हुने थियो ।
हुन त पुलिसविरुद्धको खेललाई प्रवेशले हलुका ढंगले लिएका थिएनन् । उनको अभिव्यक्तिले पनि यही सन्देश दिइरहेको थियो । ‘नेपाली फुटबलमा जस्तोसुकै नतिजा निकाल्न सक्ने टिम हो, पुलिस । अहिले संघर्ष गरिरहे पनि उ सेट टिम हो । तर हामी जितको लक्ष्य लिएर मैदान उत्रनेछौँ,’ प्रि–म्याच कन्फ्रेन्समा प्रवेशले भनेका थिए ।
भयो पनि त्यस्तै । पुलिसले मछिन्द्रविरुद्धको खेलमा लत्तो छाडेन । बारम्बार आक्रामण गरिरह्यो । उसले मछिन्द्रको पोस्टमा ६ पटक आक्रामण ग¥यो । यद्यपि आक्रामण बुन्ने मामलामा मछिन्द्र अघि रह्यो । र गोल पनि उसैले गर्यो । मछिन्द्रका लागि फेरि पनि सुनिल नै निर्णायक बने । सबैखाले गोल गर्न खप्पिस सुनिलले यसपटक हेडर गोल गरे ।
‘पहिलो हाफमा प्रेसर थिएन । फेरि गोल पनि पहिलो हाफमै भयो । पुलिस क्लबले अट्याकिङ खेल्यो यसकारण केही गाह्रो चाहिँ भयो । दोस्रो हाफमा अलिक तालमेल मिलेन,’ लिगमा पाँच गोल गरिसकेका सुनिलले मछिन्द्रलाई एएफसी कपमा पुर्याएपछि भने । जारी लिगमा सर्वाधिक गोल गरेका सुनिलले टिमको सफलताको जस आफूले मात्रै लिएनन् । ‘फुटबल टिम गेम हो । सबैको मेहेनलका कारण यो सफलता हात लागेको हो । मैले गोल गर्नुको कारण पनि पूरै टिमको मेहेनत हो,’ सुनिलले भने ।
मछिन्द्र आफ्नो प्राथमिक लक्ष्यमा सफल भएको छ । २०६३ देखि मात्रै नेपालको शीर्ष लिगमा खेल्न थालेको मछिन्द्रका लागि एएफसी कप छनौट चानचुने सफलता होइन । लिग च्याम्पियन बनेर नेपाली फुटबलको शक्तिमा रुपान्तरित भएको मछिन्द्र अब महादेसीय प्रतियोगितामा पुगेको छ ।
तर एसियाली फुटबलका ठूला क्लबहरूसँग प्रतिस्पर्धा गर्नुअघि उसले प्रारम्भिक चरण पार गर्नुपर्नेछ । यसो गर्न आर्मी असफल भएको थियो । यसले प्रारम्भिक चरणको पहिलो खेलमा श्रीलंकाली टिमलाई पन्छाए पनि अर्को चरणमा भने भारतीय टिम बेंगलुरु एफसीसँग नमज्जाले पराजित भएको थियो ।
यसबारे प्रवेश जानकार छन् । यही भएर उनले आफ्नो टिममा नयाँ खेलाडी थप्ने बताएका छन् । नेपाली खेलाडी नभएर विदेशी खेलाडी थप्ने योजनामा आफ्नो टिम रहेको प्रवेशको भनाइ छ । प्रवेशको यस्तो भनाइको कारण एएफसी कप छनौटमा हुने प्रतिस्पर्धा नै हो । उसै पनि नेपाली क्लब एएफसी कप वा यसको छनौटमा अनुभवी भइसकेका छैनन् । यस्तोमा नेपाली लिगमा प्रमाणित भइसकेको क्लबका लागि पनि महादेसीय प्रतियोगिता असाध्यै कठिन परीक्षा हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया