हालान्ड जस्ता स्टार खेलाडी बार्सिलोनाबाट खेल्न चाहन्छन्ः लापोर्टा
काठमाडौँ- युरोपियन क्लब फुटबलमा सरुवा बजार खुलेको छ । जनवरी १ बाट सरुवा बजार खुलेपछि क्लबहरू खेलाडी किनबेचमा सक्रिय हुन थालेका छन् । स्पेनको बार्सिलोनाले म्यानचेस्टर सिटीबाट फेरान टोरेसलाई खरिद गरिसकेको छ ।
सरुवा बजारमा अरु पनि राम्रा खेलाडी उपलब्ध भए अनुबन्धन गरिने बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाको भनाइ छ । यो सिजन सुरु हुनुअघि लियोनल मेस्सी गुमाएको बार्सिलोना नयाँ खेलाडी भित्र्याउँदै बलियो बन्ने ध्येयमा छ । पछिल्लो पटक क्याट्लन क्लब एर्लिङ हालान्डसँग जोडिएको छ ।
हालान्ड हाल जर्मनीको बोरुसिया डर्टमन्डमा छन् । उनले यसपालि जर्मनी छाड्ने सम्भावना छैन । तर सिजनको अन्त्यमा भने उनले नयाँ टिम रोज्ने सम्भावना छ । डर्टमन्डसँग हालान्डले गरेको सम्झौता अनुसार आउँदो ‘समर विन्डो’मा कुनै टिमले सात करोड ५० लाख युरो तिरेर नर्वेजियन स्ट्राइकरलाई आफ्नो बनाउन सक्छ ।
यस्तोमा अन्य रियल मड्रिडसँग बार्सिलोना पनि हालान्ड अनुबन्धन गर्नसक्ने टिमको सूचीमा छ । यद्यपि बार्सिलोनाको आर्थिक अवस्था उति राम्रो छैन । स्पेनका सञ्चार माध्यमहरूका अनुसार बार्सिलोना एक अर्ब युरो ऋणमा फसेको छ । त्यही पनि बार्सिलोनाले स्टार खेलाडी अनुबन्धन गर्ने इच्छा त्यागेको छैन ।
‘बार्सिलोनालाई बलियो टिमका रुपमा फेरि स्थािपत गर्ने हाम्रो कर्तब्य हो । आशा छ हामी यस्तो लक्ष्यमा सफल हुनेछौँ । यसकारण हामी हालाहन्ड जस्ता खेलाडी अनुबन्ध गर्न सक्छौँ,’ लापोर्टाले भनेका छन् ।
उनले बार्सिलोना अझै पनि स्टार खेलाडीहरुले मन पराउने क्लब रहेको दाबी गरे । ‘स्टार खेलाडीहरू बार्सिलोना आउन चाहन्छन् । हामी अझै पनि उनीहरुको रोजाइ हौँ । तर म कोही खेलाडीका विषयमा तत्काल टिप्पणी गर्न चाहन्न । यसो गर्दा उनीहरूको मोल बढ्न सक्छ,’ लापोर्टाले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया