फुटबल

विश्वकप खेल्न तयार क्रिस्टियन एरिक्सन

इकागज |
पुस २१, २०७८ बुधबार १२:५६ बजे

काठमाडौँ- क्रिस्टियन एरिक्सन गत युरोयता मैदान फर्किएका छैनन् । युरोमा फिनल्यान्डसँगको खेल दौरान एरिक्सन मैदानमै ढलेका थिए । हृदयघात भएको पुष्टि भएपछि एरिक्सनको मुटुमा ‘डेफिब्रिलेटर’ नाम गरेको यन्त्र राखिएको छ । 

यही यन्त्रका कारण एरिक्सनको सिरी ए करियरमा पूर्णविराम लाग्यो । किनभने इटालियन फुटबलको नियम यही हो, मुटुमा ‘डेफिब्रिलेटर’ जडान गरेका खेलाडीले खेल्न पाउँदैनन् । यसैकारण एरिक्सन र इन्टर मिलानले आपसी समझदारीमा सम्झौता रद्द गरे । त्यसपछि एरिक्सन क्लबविहीन छन् । 


क्लबविहीन भएपनि एरिक्सनले अभ्यास सुरु गरेका छन् । उनले आफू खेलमा फर्कन फिट रहेको पनि दाबी गरेका छन् । भर्खरै खुलेको जनवरी सरुवा बजारमा नयाँ क्लबको खोजीमा रहेका एरिक्सनको ध्येय आउँदो विश्वकप खेल्ने हो । 

‘मरो प्राथमिक लक्ष्य कतारमा हुने विश्वकप खेल्ने हो । यसका लागि म तयार रहन चाहन्छु । हुन त मलाई राष्ट्रिय टिमका लागि छनौट गर्ने वा नगर्ने भन्ने निर्णय प्रशिक्षकले गर्ने नै छन् । तर उनको नजरमा पर्न म मेहेनत गर्नेछु,’ एरिक्सनले हालै भनेका छन् । 

उनले आफ्नो मुटुमा कुनै किसिमको समस्या नदेखिएको पनि बताए । ‘म शतप्रतिशत फिट छु । मुटुमा कुनै समस्या छैन । म राष्ट्रिय टिमका लागि खेल्न सक्छु भनेर प्रमाणित गर्न आतुर छु,’ एरिक्सनले भने ।  
 


Author

थप समाचार
x