लिभरपुलका प्रशिक्षक क्लपपछि उनका सहायक लिन्डर्स पनि कोभिड संक्रमित
काठमाडौँ- कोभिड–१९ को संक्रमणमा परेकाले योर्गन क्लप गत आइतबार लिभरपुल र चेल्सीबीचको खेलमा अनुपस्थित भए । प्रशिक्षक क्लपको स्थानमा उनका सहायक पेप लिन्डर्सले चेल्सीसँगको खेलमा लिभरपुलको नेतृत्व गरे । बुधबार उनै लिन्डर्स पनि कोभिड संक्रमणमा परेको खबर आएको छ ।
बिहीबार राति लिभरपुलले काराबाओ कपमा आर्सनलको सामना गर्ने तालिका छ । यही खेलको अघि हुने प्रि–म्याच कन्फ्रेन्समा लिन्डर्सले सम्वोधन गर्ने कार्यक्रम थियो । तर लिन्डर्स अनुपस्थित भएपछि प्रि–म्याच कन्फ्रेन्स पनि रद्द गरियो ।
लिभरपुलमा यसअघि नै तीन खेलाडीमा संक्रमण पुष्टी भइसकेको छ । संक्रमणमा परेका गोलरक्षक एलिसन, रक्षक जोएल माटिप र फरवार्ड फरमिन्होले चेल्सीविरुद्धको खेल गुमाएका थिए । तीन खेलाडीबाहेक प्रशिक्षण टिमका अन्य सदस्य पनि संक्रमित भएको लिभरपुलले जनाएको छ ।
उसो त आर्सनलसँगको खेल स्थगित गर्न लिभरपुलले ईएफएलसमक्ष निवेदन दिइसकेको छ । तर खेल स्थगित हुने वा नहुनेबारे निर्णय आइसकेको छैन । आफूसँग पर्याप्त खेलाडी नभएको लिभरपुलको भनाइ छ । मोहम्मद सलाह, साडियो माने र नेबी केइटा अफ्रिका कप अफ नेसन्स खेल्न क्यामरुन गएका छन् भने थियागो अल्कन्ट्रा, ताकुमी मिनामिनो, डिभोक ओरिगी, नाथनियल फिलिप्स र हार्भी एलियोट घाइते छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया