तेस्रो श्रेणीका टिमविरुद्ध रियल र बार्सिलोनाको संघर्षपूर्ण जित
काठमाडौँ- स्पेनका दुई ठूला क्लब रियल मड्रिड र बार्सिलोना कोपा डेल रेकोको अन्तिम १६ मा पुगेका छन् । बुधबार राति भएका अन्तिम ३२ का खेलमा रियलले अल्कोयानोलाई ३–१ ले पराजित गर्यो भने बार्सिलोनाले लिनारेस डिपोर्टिभोमाथि २–१ को जित हासिल गर्यो । रियल र बार्सिलोनाले पाखा लगाएका दुवै टिम स्पेनिस घरेलु फुटबलमा तेस्रो श्रेणीको लिग खेल्छन् ।
अल्कोयानोविरुद्ध रियलले ३९ औँ मिनेटमा अग्रता लिएको थियो । रियलका लागि एडेर मिलिटाओले गोलको खाता खोलेको थियो । ६६ औँ मिनेटमा अल्कोयानो बराबरी गोल फर्काएको थियो । उसका लागि डानी भेगोले गोल गरेका थिए । त्यसको १० मिनेटपछि रियलले गोल थप्यो । यसपटक मार्को एसेन्सियोले गोल गरे । उनको प्रहार अल्कोयानाका रक्षकलाई लाग्दै गोलमा परिणत भएको थियो ।
२–१ को अग्रता लिए पनि रियल ढुक्क हुन सकेको थिएन । तर ७८ औँ मिनेटमा जोसे जुवान फिग्वेरसले आत्मघाती गोल गरेपछि भने रियल ढुक्क भयो ।
उता रियलको प्रतिद्वन्द्वी बार्सिलोनाले पनि संघर्षपूर्ण जित हासिल गर्यो । लिनारेसको मैदानमा भएको खेलमा घरेलु टिमले सुरुवाती अग्रता लिएको थियो । उसका लागि ह्युगो डियाजले गोल गरेका थिए । एक गोलले पछि परेको अवस्थामा बार्सिलोनाले दोस्रो हाफमा दुई गोल फर्काउन सक्यो । बार्सिलोनाका लागि औसमाने डेम्बेले र फेराना जुटग्लाले गोल गरे ।
रियल र बार्सिलोनाले आ–आफ्ना खेल जित्दा ला लिगाकै सेल्टा भिगो एट्लेटिको बालेरेससँग २–१ ले पराजित भयो । अघिल्लो चरणमा गेटाफेलाई स्तब्ध बनाएको बेलारेसले सेल्टाविरुद्ध १७ औँ मिनेटमै अग्रता लिएको थियो । स्पेनको तेस्रो श्रेणीमा खेल्ने बेलारेसले दोस्रो हाफमा पनि एक गोल ग¥यो । मानुएल मार्टिनेजले ७६ औँ मिनेटमा गोल गरेका थिए । उता सेल्टाका लागि ब्राइस मेन्डेजले एक गोल फर्काए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया