म्यानचेस्टर सिटीमा प्रवेश गर्याे कोभिड, ग्वार्डिओला र सात खेलाडी संक्रमित
काठमाडौँ- इंग्लिस प्रिमियर लिग खेल्ने कयौँ क्लब कोभिड–१९ बाट प्रभावित भइरहेका छन् । यो सूचीमा म्यानचेस्टर सिटी पनि थपिएको छ । पछिल्लो खबर अनुसार सिटीका प्रशिक्षक पेप ग्वार्डिओला र सात खेलाडी कोभिड संक्रमणमा परेका छन् ।
सिटीमा प्रशिक्षण टिमका ग्वार्डिओलासहित कुल १४ जनालाई कोभिड संक्रमण भएको बताइएको छ । यी सबै आइसोलेसनमा रहेको सिटीले जनाएको छ । प्रिमियर लिगकै बर्नलीका प्रशिक्षक सिन डाइच पनि कोभिड संक्रमणमा परेका छन् ।
उता इटालियन लिग पनि कोभिडका कारण प्रभावित बनेको छ । सिरी ए मा बिहीबार हुने भनिएका १० खेलमध्ये चार खेल स्थगित गर्न स्थानीय स्वास्थ्य अधिकारीहरूले सुझाव दिएका छन् । यद्यपि सिरी ए आफैँले भने ती खेलहरू आधिकारीक रुपमा स्थगन गरेको छैन ।
टोरिनोका ६ खेलाडीमा कोभिड संक्रमण पाइएको छ । यो क्लबको प्रशिक्षण टिमका दुई सदस्यमा पनि कोभिड पोजेटिभ देखिएको छ । उता उडिनेजेका सात खेलाडी पनि संक्रमित भएका छन् भने सिरी ए कै अर्को क्लब सालेरनिटानाका नौ खेलाडी कोभिडकै कारण खेलका लागि अनुपस्थित छन् ।
सबैजसो क्लब कोभिडको मारमा पर्न सुरु भएपछि सिरी ए ले नयाँ नियम ल्याएको छ । जस अनुसार कुनै पनि टिमसँग एक गोलरक्षकसहित कुल १४ खेलाडी भए उसले खेल स्थगित गर्नका लागि अनुरोध गर्न पाउँदैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया