फुटबल

सिरी एः मौउरिन्हो नेतृत्वको रोमाको आठौँ हार

इकागज |
पुस २३, २०७८ शुक्रबार १०:३५ बजे

काठमाडौँ- इटालियन सिरी ए मा एएस रोमाले आठौँ हार बेहोरेको छ । बिहीबार राति सान सिरोमा भएको खेलमा रोमालाई एसी मिलानले ३–१ ले पराजित गर्‍यो । यो हारका बाबजुद रोमा सातौँ स्थानमै छ । तर उसको र आठौँ स्थानको लाजियोको ३२–३२ अंक छ । दुवैले २०–२० खेल खेलेर ३२ अंक जम्मा गरेका छन् । 

जोसे मौउरिन्हो नेतृत्वको रोमाले शीर्ष सातमा रहेका अन्य टिमको भन्दा धेरै खेल हारेको छ । कोभिड–१९ संक्रमणका कारण केही खेल स्थगित भएको सिरी ए मा मिलान र रोमाबीचको खेल भने अवरुद्ध भएन । लिग लिडर इन्टर मिलानको बोल्योनासँगको खेल रोकिएपछि मिलानलाई मौका थियो, रोमालाई हराउने र शीर्ष स्थानसँगको दूरी घटाउने । यसमा मिलान सफल भयो । जितपछि मिलानको ४५ अंक भएको छ भने एक खेल कम खेलेको इन्टरको ४६ अंक छ । 


मिलानको जितमा रोमाले गरेका गल्ती महत्वपूर्ण रहे । पहिलो गोल मिलानले पेनाल्टीमा गरेको थियो । रोमाका ट्यामी अब्रहामले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि मिलानले पेनाल्टी पाएको थियो । जसमा ओलिभर जिरुड असफल भएनन् । आठौँ मिनेटमा गोलको खाता खोलेको रोमाले नौ मिनेटपछि दोस्रो गोल गर्‍यो । यसपटक पनि जिरुड निर्णायक सावित भए । 

रोमाका रक्षक रोजर इबानेजले दिएको ब्याकपासलाई खोस्दै जिरुडले आक्रामण बुनेका थिए । तर उनको प्रहार बारमा लागेर फर्कियो । कसैको नजरमा नरहेका जुनियर मेसिअसले रिबाउन्डमा आएको बल नियन्त्रणमा लिँदै गरेको प्रहार गोलमा परिणत भयो । 

पहिलो हाफ नसकिँदै अब्रहामले एक गोल फर्काए । तर दोस्रो हाफमा रोमाले गोल थप्न सकेन । बरु मिलानले तेस्रो गोल गर्‍यो । उसका लागि राफाएल लिआओले गोल गरे । दुई गोलले पछि परेको रोमाका दुई खेलाडीले रातो कार्ड पाए । ७४ औँ मिनेटमा रिक कार्सड्रोपले मैदान छाडे भने आतिरिक्त समयमा जियानलुका मान्सिनीले पनि दोस्रो पहेलो कार्ड पाए । आइतबार युभेन्टससँगको खेलमा यी दुई खेलाडी अनुपस्थित हुनेछन् । 

खेलपछि रोमाका प्रशिक्षक मौउरिन्होले रेफ्रीको निर्णयप्रति रोष व्यक्त गरे । ‘हो हामीले खराब खेल देखायौँ । तर रेफ्रीले गरेका निर्णय झनै खराब थिए । सायद भीएआर रेफ्री आफ्नो कोठामा थिएनन्,’ मौउरिन्होले भने । 


 
  
 


Author

थप समाचार
x