फुटबल

सिरी एः नेपोलीलाई रोक्यो युभेन्टसले

इकागज |
पुस २३, २०७८ शुक्रबार ११:११ बजे

काठमाडौँ- यसपालिको सिरी ए उपाधिको दौडमा इन्टर मिलान र एसी मिलान छन् । गणितीय हिसाबले नेपोली पनि च्याम्पियन बन्‍ने प्रतिस्पर्धा छ । पछिल्ला खेलहरूमा प्रदर्शन खस्किए पनि नेपोली शीर्ष तीनमै छ । शीर्ष तीनमा मिलान सहरका दुई क्लब र नेपोली रहँदा युभेन्टस भने शीर्षमा पर्न संघर्षरत छ । 

बिहीबार राति युभेन्टसले नेपोलीको सामना गर्‍यो । आलियान्ज रंगशालामा भएको खेलमा दुवै टिमले एक–एक गोल गरे । अग्रता भने नेपोलीले लिएको थियो । ड्राइस मर्टिन्सले खेलको २३ औँ मिनेटमा सुरुवाताी गोल गरेका थिए । दोस्रो हाफमा युभेन्टस खेलमा फर्कियो । ५४ औँ मिनेटमा फेडेरिको किएसाले गोल फर्काएका थिए । त्यसपछि भने दुवै टिमले गोल थप्न सकेनन् । 


सिरी ए मा नेपोलीको यो चौथो बराबरी हो । लिगमा चार खेल नै हारिसकेको नेपोलीको २० खेलबाट ४० अंक भएको छ । तेस्रो स्थानको नेपोली र शीर्ष स्थानको इन्टर मिलानबीचको दूरी ६ अंकको छ । नेपोलीसँग बराबरी खेलेको युभेन्टस भने पाँचौँ स्थानमा छ । २० खेल खेलेको युभेन्टससँग ३५ अंक छ । 

नेपोली बराबरीमा रोकिँदा इन्टरलाई फाइदा भएको छ । बिहीबार राति बोल्योनासँगको खेल रोकिए पनि इन्टर शीर्ष स्थानमै छ । इन्टरभन्दा एक खेल बढी खेलेको मिलानको खातामा ४५ अंक छ । जुन इन्टरको भन्दा एक अंक कम हो । आफ्नो २१ औँ खेलमा मिलानले आइतबार भेनेजियाका सामना गर्दैछ । उता इन्टरको भेट लाजियोसँग हुँदैछ ।   
  


Author

थप समाचार
x