लिगमा विशेष देखिएका विष्णु
काठमाडौँ - काठमाडौँमा जारी सहिद स्मारक ए डिभिजन लिगमा तीन टिम अपराजित छन् । बलिया मानिएका मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले सातौँ चरणसम्म पराजय बेहोरेका छैनन् । मछिन्द्र र आर्मीबाहेक कुनै खेल नहार्ने अर्को टिम हो, संकटा क्लब ।
संकटाले लिगमा आठ खेल खेलिसकेको छ । ती खेलमध्ये तीनमा जित हात पारेको छ, संकटाले । अनि पाँच खेलमा चाहिँ बराबरीमा रोकिएको छ । यसो हुँदा संकटा तेस्रो स्थानमा छ । संकटाले कायम राखेको अपराजित लय र प्राप्त गरेको स्थान अपेक्षित होइन । किनभने संकटामा स्टार भन्न मिल्ने खेलाडी छैनन् भन्दा पनि हुन्छ । हुन त लिग मध्यान्तरमा छ । १३ औँ चरणसम्म चल्ने लिगमा आठौँ चरणका खेल भइरहेका छन् । यस्तोमा अन्तिम स्वरूपको तालिकामा संकटाको स्थान कहाँ हुन्छ, अनुमान गर्न सजिलो छैन । तर अहिलेसम्म संकटाले जसरी प्रदर्शन गरेको छ, यसले भने नेपाली फुटबल समर्थकको मन भने जितेकै छ ।
संकटाले प्रारम्भिक सफलता पाउनुको कारण के हो त ? यसको जवाफमा संकटाका मुख्य प्रशिक्षक विष्णु गुरुङ भन्छन्, ‘प्रत्येक अभ्यास सेसनमा गरिने मेहनत । अनि मानसिक र शारीरिक रूपमा तयार रहेका खेलाडीको समूह ।’
विष्णु आफैँमा अनुभवी प्रशिक्षक होइनन् । न त उनी नेपाली फुटबलमा ‘टेस्टेड’ प्रशिक्षक नै हुन् । नेपालको शीर्ष लिगमा उनका लागि यो पहिलो सिजन हो । तर जसरी उनले संकटाको नेतृत्व गरिरहेका छन्, यसले उनी कम अनुभवी हुन् भन्ने संकेत गर्दैन । ‘कुनै बेला म खेलाडी थिएँ । यसकारण खेलाडीलाई कसरी ट्रिट गर्नुपर्छ भन्ने थाहा छ । खेलमा उनीहरू आत्तिन सक्छन् भन्ने कुरालाई ख्याल गर्छु । उनीहरूको मनोविज्ञान बुझ्ने प्रयास गर्छु । यी सबै कुरालाई मध्यनजर गरेर टे«निङ सेसन चल्छ,’ विष्णु आफ्नो अनुभव सुनाउँछन् ।
विष्णुले करिब सात वर्ष थ्रीस्टारबाट खेले । त्यहाँ दुई पटक लिग जिते । अनि खेल करियरको अन्त्य चाहिँ संकटाबाट गरे । थ्रीस्टारमा पुग्नुअघि भने उनी पोखराको सहारा एकेडेमीमा थिए । जहाँ उनले तीन वर्ष फुटबल सिके । खासमा उनी सहारा एकेडेमीको पहिलो ब्याचको उत्पादन हुन् । नेपाली राष्ट्रिय टिमका पूर्वस्ट्राइकर अनिल गुरुङसँगै अन्य १९ खेलाडी विष्णुका सहयात्री थिए ।
प्रशिक्षणमा करियर बनाउनु पर्छ भनेर चाहिँ उनले खेलाडी हुँदै सोचे । र आवश्यक गृहकार्य गर्न पनि सुरु गरिहाले । थ्रीस्टारमै रहँदा उनले एएफसी बी लाइसेन्स लिन सफल भए । खेलाडी हुँदाहुँदै उनले थ्रीस्टारकै क्लबको युवा टिमलाई प्रशिक्षण पनि दिए । ललित मेमोरियल अन्डर–१८ च्याम्पियनसिपमा उनी थ्रीस्टारको युवा टिमको प्रशिक्षक थिए । तर यो भूमिकामा उनी एक्लै भने थिएनन् । ललितपुरे क्लबको किशोर खेलाडीहरूलाई प्रशिक्षण दिन विष्णुलाई विक्रम लामा र सरोज दाहालले सघाएका थिए । विक्रम अहिले पनि थ्रीस्टारबाटै लिग खेलिरहेका छन् ।
करियरको उत्तराद्र्धमा संकटा पुगेका विष्णु नुवाकोटमा एक स्थानीय प्रतियोगिता खेल्दा घाइते भए । घुँडाको चोटले उनलाई लामो समय मैदानबाहिर राख्यो । उनी निको त भए तर खेलाडीका रूपमा मैदान फर्किएनन् । ‘मलाई त्यस बेला मनाङ मस्र्याङ्दी क्लबले समेत खेलाडी तथा प्रशिक्षकको भूमिकाका लागि प्रस्ताव राखेको थियो । तर मैले खेलाडीका रूपमा मैदान नफर्कने निधो गरे । बरु पूर्णकालीन प्रशिक्षक बन्न आवश्यक तयारीमा लागे,’ विष्णु सम्झिन्छन् ।
पूर्णकालीन प्रशिक्षक बन्नका लागि विष्णु घर फर्किए । घर मतलब सहारा एकेडेमी । करिब दुई वर्ष त्यहाँका किशोर खेलाडीहरूलाई प्रशिक्षण दिए । बीचमा विभिन्न विद्यालय, स्थानीय टिमलगायतको प्रशिक्षक बने । स्थानीय तहमा हुने साना प्रतियोगिताको अनुभवले मात्रै विष्णुलाई खार्नेवाला थिएन । यसैकारण उनी एएफसी लाइसेन्स ए गर्न काठमाडौँ फर्किए । अति उनी यतै रहे । यसको कारण थियो, संकटाको प्रशिक्षक बन्ने प्रस्ताव ।
नयाँ सिजनको लिग सुरु हुने भएपछि संकटाले आफ्ना पूर्वखेलाडी विष्णुलाई प्रशिक्षक बन्न प्रस्ताव राख्यो । घरेलु फुटबलको शीर्ष लिगमा प्रशिक्षक बन्ने मौका पर्खिरहेका विष्णुले संकटाको प्रस्ताव इन्कार गर्ने कुरै थिएन । ‘संकटासँग अन्य विकल्प पनि थिए । तर मलाई विश्वास गरियो । फेरि म पनि बे्रकथ्र्रुको पर्खाइमा थिए,’ विष्णु भन्छन् । विष्णु संकटाप्रति कृतज्ञ छन् । अनि संकटा टिमको सुरुवाती सफलतामा दंग छ ।
खेल्दा विष्णुको भूमिका सेन्ट्रल डिफेन्सिभ मिडफिल्डको थियो । यो भूमिकामा रहने खेलाडीको जिम्मेवारी भनेको आफ्नो टिमका लागि बललाई नियन्त्रणमा राख्ने, आक्रामण बुन्न पास निकाल्ने र विपक्षीको आक्रमणलाई निस्तेज पार्न आफ्नो रक्षापंक्तिलाई सघाउने । खेलाडी हुँदा विष्णु जसरी हुन्छ बललाई नियन्त्रणमा राख्ने प्रयास गर्थे । अहिले प्रशिक्षक बनेपछि पनि उनको लक्ष्य उही हो, बल पोेसेसन ।
‘हाम्रो उद्देश्य नै बल पोसेसन राख्ने र आक्रामक फुटबल खेल्ने हो,’ विष्णु भन्छन् । हुन त लगभग सबै प्रशिक्षकको लक्ष्य यही नै हुन्छ, ‘एट्याक विथ बल पोसेसन’ । तर विष्णु प्रशिक्षित संकटाले फुटबलको यो दर्शनलाई दशरथ रंगशालाको मैदानमा प्रयोग गरिरहेको छ । उनको थप जोड तीव्र गतिमा बल अघि बढाउनमा हुन्छ । यो पनि आफैँमा नयाँ शैली होइन । आधुनिक फुटबलमा ‘इन्टेनसिटी’ नयाँ शब्द होइन । फेरि विष्णु आफैँ पनि जारी लिगका धेरै टिमले ‘इन्टेन्स’ फुटबल खेल्न जिकिर गर्छन् ।
विष्णुको भनाइ मान्ने हो भने, ए डिभिजन लिगमा जसले जसलाई पनि हराउन सक्छ । अनि उनकै अनुसार कुनै पनि टिमको पछिल्लो खेललाई विश्लेषण गरेर उसले आउँदा खेलमा कस्तो प्रदर्शन गर्ला भनेर अनुमान लगाउने ठाउँ छैन । ‘यसपालिको लिग फरक छ । अंक तालिकामा तल रहेका टिमले प्रत्येक साता फरक फरक किसिमको खेल देखाइरहेका छन् । फेरि टिमहरूबीचको अंक दूरी पनि धेरै छैन,’ दशरथ रंगशालामा जारी लिगबारे उनको टिप्पणी छ ।
लिगमा विष्णुका लागि सबैभन्दा कठिन विपक्षी आर्मी हो । किन भनेर सोध्दा उनको जवाफ थियो, ‘स्पिड र लामो समयदेखि सँगै खेलिरहेका खेलाडीको समूह ।’ उनका अनुसार आर्मीले लिगमा आफ्नो स्तर अनुसारको नतिजा निकाल्न सकिरहेको छैन । यसको कारण स्ट्राइकर नवयुग श्रेष्ठको अनुपस्थिति र केही खेलाडीले बोकेको चोटलाई मान्छन् विष्णु । यद्यपि जगजित श्रेष्ठको आगमनले आर्मीलाई राहत दिएको उनको ठम्माइ छ ।
अनि विष्णुलाई आर्मीको मनपर्ने पक्ष अर्को पनि छ । ‘आर्मी अन्धाधुन्ध अट्याक गर्दैन । योजनाबद्ध रूपमा बललाई अगाडि बढाउँछ । आफूले अट्याक गर्दा काउन्टर अट्याकको सामना गर्नु नपरोस् भनेर चनाखो रहन्छ,’ विष्णुले भने ।
लिगका पछिल्ला खेलहरूमा मनाङको प्रदर्शनमा पनि सुधार आएको अनुभव गरेका छन्, विष्णुले । यसका लागि उनले तोपे फुजालाई जिम्मेवार ठह¥याए । नेपाली फुटबलका लागि परिचित नाइजेरियाली फुजा मनाङसँग जोडिएपछि उसले फरक शैलीमा खेल्न थालेको विष्णुको भनाइ छ । उनले लिगका अन्य दुई प्रशिक्षकको पनि खुलेर तारिफ गरे । ती प्रशिक्षक, बालगोपाल साहुखल र युगल किशोर राई हुन् । बाालगोपाल च्यासल युथ क्लबका मुख्य प्रशिक्षक हुन् भने युगल हिमालयन शेर्पा क्लबसँग आबद्ध छन् । ‘च्यासल र हिमालयन शेर्पा निश्चित सिस्टममा खेल्छन् । बल पोसेसन राख्न मेहनत गर्छन् । विपक्षी अनुसारको रणनीति बुन्छन्,’ विष्णु भन्छन् ।
विष्णुले नाम लिएका युगल पनि प्रशिक्षकका रूपमा पहिलो पटक ए डिभिजन लिगमा छन् । बालगोपालका लागि भने यो दोस्रो सिजन हो । विष्णु र युगलबाहेक यो पटकको लिगमा डेब्यु गर्ने अर्का प्रशिक्षक हुन्, कुमार थापा । जो विभागीय टिम एपीएफ फुटबल क्लब सम्हालिरहेका छन् । नयाँ प्रशिक्षकहरूको आगमनले लिग रोमाञ्चक भएको भन्ने दाबीमा उनको सहमति छ । तर सहमति जनाइरहँदा विष्णुले आफूहरूले सिक्न धेरै बाँकी रहेको भन्न छुटाएनन् ।
‘प्रशिक्षणमा हामी नयाँ छौँ । हाम्रो सिकाइ जारी छ । नेपालका कोचिङ कन्फ्रेन्स गरिनु पर्छ । ताकि हामीले नयाँ नयाँ सिक्न सकौँ । मैले अब्बदुल्लाह (राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरी)लाई वर्कसप राख्न अनुरोध गरेको छु । यसमा उनी सकारात्मक छन्,’ विष्णु भन्छन् । हुन त विष्णुले विदेशी प्रशिक्षकसँग अनलाइनका माध्यमबाट ज्ञान लिइरहेका छन् । र प्रशिक्षणको औपचारिक अध्ययनलाई भविष्यमा पनि जारी राख्ने योजनामा छन् ।
विष्णुको प्रधान लक्ष्य भनेको नेपालको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक बन्नु हो । यो जिम्मेवारीमा पुग्नलाई उनले रोडम्याप पनि बनाएका छन् । जुन हो, नेपाली शीर्ष डिभिजनमा तीन–चार सिजिन रहने अनि प्रो लाइसेन्सका लागि एसियाकै कुनै मुलुक जाने । त्यसपछि मात्रै आफ्नो नजर राष्ट्रिय टिमतर्फ हुने उनको भनाइ थियो ।
भविष्यको योजनाबाट विष्णु वर्तमानमै फर्किए । त्यो पनि लिगतर्फ । उनलाई अप्ठ्यारो लाग्नसक्ने प्रश्न सोधियो । प्रश्न राष्ट्रिय टिमका खेलाडीहरूले जारी लिगमा गरिरहेको प्रदर्शनबारे थियो । यसको जवाफ उनले धक नमानी दिए । ‘उनीहरू राष्ट्रिय टिमबाट खेल्दा जसरी मेहनत गर्छन्, त्यहीअनुसारको मेहनत क्लबका लागि देखिएको छैन । उनीहरूले साफ च्याम्पियनसिपको फाइनल खेलिहालियो, अब पुग्यो भन्ने मानसिकता बोकेको जस्तो देखिन्छ । खेलाडीको यस्तो मनोवृत्तिले क्लबलाई घाटा भइरहेको छ,’ विष्णुको भनाइ थियो ।
यद्यपि उनले लिगमा देखिएको नयाँ अनुहारहरूले भने राम्रो खेल देखाइरहेको बताए । ‘बी डिभिजन, एकेडेमीबाट आएका खेलाडीहरूले राम्रो प्रदर्शन गरिरहेका छन् । अरु नयाँ खेलाडीहरूको प्रदर्शन पनि लोभलाग्दो छ,’ विष्णुले भने ।
अन्त्यमा,
पछिल्लो समय नेपालमा नयाँ प्रशिक्षकहरू उत्पादन हुने क्रम जारी छ । त्यो पनि औपचारिक तालिमकै माध्यमबाट । नयाँ पुस्ताका प्रशिक्षकहरूकै प्रतिनिधि हुन्, विष्णु । जो फुटबल प्रशिक्षणलाई पारम्परिक ढंगले सोच्दैनन् । विष्णु जस्ता नयाँ प्रशिक्षकहरू खेलाडीहरूसँग भलाकुसारी गर्छन् । खेलाडीले अभ्यास वा खेलमा गल्ती गरे, त्यसलाई सच्याउन बेग्लै सेसन राख्छन् । वा खेलाडीलाई एक्लै बोलाएर सम्झाउँछन् । अनि विपक्षी अनुसारको खेल रणनीति बनाउँछन् र अभ्यासमा त्यही अनुसारको ‘ड्रिल’ गराउँछन् । कुनै निश्चित खेलका लागि खेलाडीलाई फरक भूमिका पनि दिइन्छ । जुन विपक्षीका स्ट्राइकरलाई मार्क गर्नेमात्र हुँदैन ।
झट्ट सुन्दा यी सबै कुरा पुरानै लाग्छन् । तर नेपाली फुटबलमा यस्ता आधारभूत विषयमा ध्यान दिन थालिएको नयाँ प्रशिक्षकहरू आएपछि मात्रै हो । ‘हामीले खेल्दा निश्चित विपक्षीलाई ध्यानमा राखेर अभ्यास गरिँदैन थियो । न त कुनै खेलाडी थप वा फरक जिम्मेवारी नै दिने गरिन्थ्यो,’ विष्णु सम्झिन्छन् ।
नेपाली फुटबलमा प्रशिक्षण गर्ने शैली त फेरिएको छ तर आवश्यक जनशक्ति भने पर्याप्त छैन, भन्छन् विष्णु । उनको संकेत एनलिस्ट, फिटनेस टे«नर, न्युट्रिसनिस्ट लगायतका पदतर्फ थियो । नेपालमा मुख्य प्रशिक्षक, उसको सहायक र गोलरक्षक प्रशिक्षकबाहेक थप जनशक्ति पनि चाहिन्छ र ? भन्ने किसिमको धारणा रहेको विष्णुको गुनासो छ । ‘एउटा टिममा सबै किसिमको जनशक्तिको आवश्यकता रहन्छ । सबै भूमिका प्रशिक्षकले पूरा गर्ने प्रकारको हुँदैन । खेलाडीलाई मैदानमा ९० मिनेटसम्म उत्तिकै इन्टेनसिटीका साथ खेलाउन हरेक पक्षबाट तयारी गर्नुपर्छ,’ विष्णुको भनाइ थियो ।
विष्णुले राखेका भनाइसँग असहमत हुने ठाउँ छैन । असहमत हुन छुट पनि छैन । किनभने उनले उठाएका विषय फुटबल विकासमा गम्भीर भएका देशहरूका लागि नयाँ होइनन् । अनि नेपाली फुटबल सञ्चालन गर्नेहरूका लागि पनि यी झसंग हुने विषय होइनन् । बरु गर्न पूरा गर्न सकिने गुनासा हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया