फुटबल

सहिद स्मारक ए डिभिजन लिग

काठमाडौँमा मछिन्द्र र पोखरामा मनाङ विजयी, आर्मी अझै अपराजित

इकागज |
पुस २४, २०७८ शनिबार १९:६ बजे

काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिगमा शीर्ष दुईमा रहेका टिमले शनिबार आ–आफ्ना खेलमा जित दर्ता गरेका छन् । काठमाडौँमा मछिन्द्र फुटबल क्लबले फ्रेन्ड्स क्लबमाथि १–० को संघर्षपूर्ण विजय प्राप्त गर्दा पोखरामा मनाङ मस्र्याङ्दी क्लबले च्यासल युथ क्लबलाई ५–० ले पन्छायो । दिनको तेस्रो खेलमा भने त्रिभुवन आर्मी एफसीले न्युरोड टिम (एनआरटी)लाई १–० ले पराजित गर्‍यो ।

शनिबार भएका खेलहरूको नतिजासँगै मछिन्द्रले आठ खेलबाट २० अंक बनाएको छ । महादेसीय प्रतियोगिता एएफसी कपको छनौटका लागि नेपालको प्रतिनिधित्व गर्न लागेको मछिन्द्र र दोस्रो स्थानको मनाङबीचको दूरी एक अंकको छ । च्यासललाई हराएपछि मनाङको खातामा १९ अंक जम्मा भएको छ । 


उपाधिका लागि मछिन्द्र र मनाङबीचको प्रतिस्पर्धा पेचिलो बन्दै जाँदा तेस्रो स्थानका लागि हुने प्रतिस्पर्धा पनि रोमाञ्चक हुने देखिएको छ । किनभने आर्मीले तेस्रो स्थानमा रहेको संकटा क्लबसँग अंक बराबरी गरेको छ । शुक्रबार सातदोबाटो युथ क्लबसँग बराबरीमा रोकिएको संकटाको आठ खेलबाट १४ अंक छ । शनिबार विजयी भएको आर्मीको पनि १४ अंक नै छ । 

लिगको पाँचौँ स्थानमा रहेको हिमालयन शेर्पाको भने सात खेलबाट ११ अंक छ । आइतबार थ्रीस्टार क्लबलाई हराए हिमालयन शेर्पाको पनि १४ अंक नै हुनेछ । हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्न लागेको थ्रीस्टारको सात खेलबाट १० अंक छ ।  

अपराजित मछिन्द्र
लिगको शीर्ष स्थानमा रहेको मछिन्द्रले जितका लागि आत्मघाती गोलको सहारा लियो । फ्रेन्ड्सका रोनेल एन्थोनी पउलले दोस्रो हाफको ६८ औँ मिनेटमा आफ्नै पोस्टमा गोल गरेका थिए । आठौँ चरणमा पनि जित हासिल गरेपछि मछिन्द्रले लिगमा आफ्नो अपराजित लयलाई कायम राखेको छ । 

अंक तालिकामा मछिन्द्रलाई पछ्याइरहेको मनाङले भने च्यासललाई फराकिलो अन्तरले हरायो । मनाङ मनाङको जितमा अफ्रिकी स्ट्राइकर अफिज ओलावाले ओलाडिपोले ह्याट्रिक गरे । उनले पहिलो हाफको ४३ औँ मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका थिए । दोस्रो हाफमा उनले दुई गोल थपे । उनले दुवै गोल दोस्रो हाफको आतिरिक्त समयमा गरेका थिए । 

मनाङले अग्रता भने तेस्रो मिनेटमै लिएको थियो । उसका लागि अर्का विदेशी खेलाडी एडे सोमिडेले गोलको खाता खोलेका थिए । अर्को गोल भने नेपाली राष्ट्रिय टिमका रक्षक दिनेश राजवंशीले दोस्रो हाफकै उत्तर्राद्धमा गरेका थिए । 

दशरथ रंगशालामै भएको अर्को खेलमा आर्मीलाई विजयी बनाउन दिनेश हेम्जनले १७ औँ मिनेटमा गोल गरे । आर्मीका लागि यो लिगको तेस्रो जित हो । उसले पछिल्ला तीन खेलमा जित निकाल्न सकेको थिएन । आर्मीलाई एपीएफ फुटबल क्लब, थ्रीस्टार र सातदोबाटो युथ क्लबले बराबरीमा रोकेका थिए । 


 


Author

थप समाचार
x