स्पेनिस ला लिगा
पाका बेन्जेमा र युवा भिनिसियसको गाेलमा रियलकाे सजिलाे जित, बार्सिलाेना भने राेकियाे
काठमाडौँ- करिम बेन्जेमा र भिनिसियस जुनियरले दुई–दुई गोल गरेपछि स्पेनिस ला लिगामा शनिबार राति रियल मड्रिडले भ्यालेन्सियालाई ४–१ ले पराजित गरेको छ । यो जितसँगै रियलले दोस्रो स्थानको सेभियालाई आठ अंकले पछाडि पारेको छ । यद्यपि सेभियाले रियलको भन्दा दुई खेल कम खेलेको छ । २१ खेल खेलिसकेको रियलले ४९ अंक बनाएको छ । सेभियाको भने ४१ अंक छ ।
सान्टियागो बर्नाबाउमा भएको खेलमा रियलले पहिलो गोल करिम बेन्जेमाले गरेका थिए । पहिलो हाफको ४३ औँ मिनेटमा गोलको खाता खोलेको बेन्जेमाले दोस्रो खेल ८८ औँ मिनेटमा गरे । विजयी टिमका लागि भिनिसियस जुनियरले दोस्रो हाफमा दुई गोल थपे । भ्यलेन्सियाका गोन्सालो गुएडेसले एक गोल फर्काए ।
गत साता गेटाफेसँग हारेको रियलका लागि बेन्जेमा र भिनिसियसको साझेदारी पुनः एकपटक निर्णायक रह्यो । बेन्जेमा आफैँले पनि भिनिसियससँग खेल्दा आफूलाई सजिलो भइरहेको प्रतिक्रिया दिएका छन् । ‘भिनिसियससँग खेल्दा मलाई रमाइलो लाग्छ । उनी असाधारण युवा प्रतिभा हुन् । अहिले जसरी प्रदर्शन गरिरहेका छन्, यसले हाम्रो टिमलाई असाध्यै फाइदा भएको छ । तर उनी योभन्दा अझ राम्रो गर्न सक्छन्,’ बेन्जेमाले भनेका छन् । यो सिजन बेन्जेमाले १७ लिग गोल गरिसकेका छन् । उनका युवा पार्टनर भिनिसियसले १२ गोल गरेका छन् ।
रियलले भ्यालेन्सियालाई सजिलै पन्छाउँदा बार्सिलोना भने ग्रानाडासँग बराबरीमा रोकियो । दोस्रो हाफमा लुक डे योङको गोलले बार्सिलोनाले अग्रता लिएको थियो । तर ८९ औँ मिनेटमा एन्टोनियो प्युरटासले गोल फर्काएपछि ग्रानाडाले बार्सिलोनाबाट अंक खोस्यो । उसो त बार्सिलोना ८९ औँ मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । पाब्लो गाभिराले दोहोरो पहेलो कार्ड पाएपछि बार्सिलोनाले १० खेलाडीमा रहेर खेलको अन्त्य गर्यो ।
यो बराबरीपछि बार्सिलोना छैटो स्थानमा छ । उसले २० खेल खेल्दा ३२ अंक छ । लिगमा आठौँ बराबरी खेलेपछि बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेज निराश देखिए । ‘यो नतिजाका कारण म आक्रोशित भएको छु । हामीले अन्तिममा दुई अंक गुमायौँ । रातो कार्डका कारण एक खेलाडी गुमाएपछि हामी दबाबमा पर्यौँ । तर त्योभन्दा पहिलाबाटै हामी खराब खेलिरहेका थियौँ,’ जाभीले भने ।
लिगमा संघर्षरत लेभान्टेले पहिलो जित हासिल गरेको छ । २० खेल खेल्दा ११ मा हार बेहोरेका लेभान्टेले शनिबार मयोर्कामाथि २–० को जित दर्ता ग¥यो । अंक तालिकामा २० औँ स्थानमा रहेको लेभान्टेका लागि रोबर्टो सोल्डाडो र जोसे मोरालेसले एक–एक गोल गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया