कुनै समय जापानी फुटबलको पोस्टर ब्वाइ रहेका कागावाले क्लब पाएनन्
काठमाडौँ- सिन्जी कागावा कुनै समय जापानी फुटबलका ‘पोस्टर ब्वाइ’ थिए । जापानी राष्ट्रिय टिमका लागि ९७ खेल खेलेका कागावाले २१ वर्षको उमेरमा युरोपियन फुटबलमा पाइला राखे । उनी जापानको शीर्ष लिग जे–लिग खेल्दा खेल्दै जर्मन बुन्डेसलिगाको बोरुसिया डर्टमन्डको नजरमा परेका थिए ।
सन् २०१० मा डर्टमन्डले कागावालाई अनुबन्धन गर्यो । युवा खेलाडीहरूलाई मौका दिने क्लबका रुपमा परिचित डर्टमन्डले कागावालाई अनुबन्धन गरेकै महिना रोबर्ट लेवान्डोस्कीलाई टिममा भित्र्याएको थियो । योर्गन क्लपको नेतृत्वमा रहेको डर्टमन्डका लागि कागावा तत्कालै प्रभावशाली खेलाडी बने । सुरुवाती १८ लिग खेलमा उनले आठ गोल गरे ।
अट्याकिङ मिडफिल्डमा खेल्ने कागावाका लागि सन् २०११ भने फापेन । जापानी टिमबाट एसिया कप खेल्ने क्रममा घाइते बने । त्यसपछि उनले बुन्डेसलिगामा बाँकी खेल गुमाए । उनको अनुपस्थितिले डर्टमन्डलाई जर्मन च्याम्पियन बन्न भने रोकेन । क्लपको टिमले बायर्न म्युनिखलाई पछि पार्दै लिग जित्यो ।
चोटमुक्त भएका कागावाले बलियो पुनरागमन गरे । उनले लिगमा मात्रै १३ गोल गरे । डर्टमन्डले लिग उपाधि रक्षा गर्यो । लगातार दोस्रो सिजन डर्टमन्डका लागि उत्कृष्ट प्रदर्शन गरेका कागावामाथि युरोपका अन्य ठूला क्लबले खरिद गर्ने इच्छा राखे । त्यसमा म्यानचेस्टर युनाइटेड पनि मिसियो । अन्ततः एलेक्स फर्गुसनको टिमले बाजी मार्यो ।
युनाइटेडमा दक्षिण कोरियाका पार्क जि सुङले लामो समय खेल्दै समर्थकको मन जितेका कारण त्यहाँ अर्को एसियाली स्टारको खोजी हुँदै थियो । यस्तोमा कागावाले पार्कले झैँ पूर्वी एसियामा युनाइटेडको लोकप्रियता बढाउने विश्वास राखिएको थियो । तर ओल्ड ट्राफोर्ड पुगेपछि पटक पटक घाइते बनेका कागावाले अपेक्षा गरे अनुसारको खेल देखाउन सकेनन् । फेरि फर्गुसनले पनि संन्यास लिएपछि कागावाको उपस्थितिलाई वास्ता गरिएन ।
अन्ततः लुई भान हालले कागावालाई डर्टमन्ड नै फिर्ता पठाइदिए । अगस्ट, २०१४ मा जर्मनी फर्किएका कागावाले त्यहाँ पनि पहिलेको जस्तो जादू देखाउन सकेनन् । यद्यपि दोस्रो बसाइका लागि डर्टमन्ड पुगेका जापानी प्लेमेकरले पहिलो खेलमै गोल गरेका थिए । सुरुवाती खेलहरूमा उत्साहजनक प्रदर्शन गरे पनि कागावा विस्तारै फिक्का देखिन थाले ।
त्यसपछि डर्टमन्डले कागावालाई टर्की पठाइदियो । लोनमा बेसिकटास गएका कागावाले त्यहाँ १५ लिग खेल खेले । बेसिकटासका लागि चार गोल र दुई असिस्टको योगदान गरेका कागावा अर्को सिजन स्पेनिस क्लबसँग आबद्ध भए । दोस्रो श्रेणीको रियल जारागोजाबाट एक सिजन खेलेपछि उनी जनवरी, २०२१ मा ग्रिसको क्लब पीएओकेसँग अनुबन्धित भए ।
तर पीएओकेमा कागावाको बसाइ टिकेन । ११ महिना ग्रिसमा रहँदा कागावाले जम्मा १२ खेल खेल्न पाए । कागावाले आपसी समझदारीमा पीएओके छाडेका हुन् । ३२ वर्षीय कागावा डिसेम्बर, १९ देखि औपचारिक रुपमा क्लबविहीन छन् । हाल सरुवा बजार खुलिसकेको भए पनि कागावलाई अनुबन्धन गर्न कुनै पनि क्लबले इच्छा देखाएका छन् । यसकारण उनको फुटबल करियर नै सकिन लागेको हो कि भन्ने शंका गरिँदैछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया