लिगमा आठौँ चरण सकिँदा पूर्वच्याम्पियन पुलिस रेलिगेसन क्षेत्र नजिक
काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिगमा सोमबार नेपाल पुलिस क्लबले चौथो बराबरी खेलेको छ । काठमाडौँस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसलाई ब्रिगेड ब्वाइज क्लब (बीबीसी)ले १–१ बराबरीमा रोकेको हो । यो बराबरीसँगै पुलिस ११ औँ स्थानमा छ । उसको आठ खेलबाट सात अंक छ । उसको भन्दा एक अंक कम भएको बीबीसी १२ औँ स्थानमा छ । बीबीसीको खातामा ६ अंक छ ।
यी दुई टिम रेलिगेसन क्षेत्रको नजिक छन् । कुल १४ टिम सहभागी लिगको पुच्छारमा रहेको फ्रेन्ड्स क्लबको आठ खेलबाट तीन अंक छ । १३ औँ स्थानमा रहेको च्यासल युथ क्लबले भने पाँच अंक बटुलेको छ ।
खेलका दुवै गोल सुरुवाती पाँच मिनेटभित्रै भएका थिए । बीबीसीले रोशन राना मगरको गोलमार्फत दोस्रो मिनेटमा अग्रता लिएको थियो । तर दुई मिनेटपछि नै पुलिसले गोल फर्कायो । विभागीय टिमका लागि बुद्व तामाङले गोल गरेका थिए ।
शिशिर लेखीले गरेको प्रहार शत्रुघन चौधरीले पन्च गरेपछि बल रोशनले पाएका थिए । रिबाउन्डमा आएको बललाई रोशनले सजिलै गोलमा परिणत गरे । पुलिसको गोल भने फ्रिकिकमा भएको थियो । बुद्वले प्रहार गरेको फ्रिकिकबाट आएको बललाई बीबीसीका गुरप्रित सिंहले अनुमान लगाउन नसकेपछि सजिलो गोल भएको थियो ।
कुनै समय नेपालको घरेलु फुटबलमा बलियो शक्तिका रुपमा स्थापित पुलिसले यसपालिको लिगमा जम्मा एक जित दर्ता गरेको छ । दोस्रो चरणको खेलमा जावलाखेल युथ क्लबलाई हराएको पुलिसले त्यसपछिका खेलमा स्पष्ट तीन अंक जोड्न सकेको छैन । लिगको आफ्नो पहिलो खेलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी एएफसीलाई १–१ को बराबरीमा रोकेको पुलिसले हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबसँग पनि बराबरी खेलेको छ ।
शीर्ष दुईमा रहेका मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दी क्लबसँग पराजित पुलिसले संकटा क्लबसँगको खेल पनि हारेको छ । लिगमा आठौँ चरण सकिँदा पुलिसले अब पाँच खेल खेल्न बाँकी छ । पुलिसले अब नवौँ चरणमा च्यासल युथ क्लबको सामना गर्नेछ । त्यस्तै बाँकी खेलहरूमा पुलिसको भेट सातदोबाटो युथ क्लब, थ्रीस्टार क्लब, नेपाल एपीएफ फुटबल क्लब र न्युरोड टिम (एनआरटी)सँग हुनेछ ।
पुलिसले हासिल गरेका नतिजाः
पहिलो चरणः त्रिभुवन आर्मी एएफसी १–१ नेपाल पुलिस क्लब
दोस्रो चरणः जावलाखेल युथ क्लब ०–१ नेपाल पुलिस क्लब
तेस्रो चरणः हिमालयन शेर्पा क्लब १–१ नेपाल पुलिस क्लब
चौथो चरणः संकटा क्लब १–० नेपाल पुलिस क्लब
पाँचौँ चरणः मनाङ मस्र्याङ्दी क्लब ३–१ नेपाल पुलिस क्लब
छैटौँ चरणः नेपाल पुलिस क्लब ०–० फ्रेन्ड्स क्लब
सातौँ चरणः नेपाल पुलिस क्लब ०–१ मछिन्द्र फुटबल क्लब
आठौँ चरणः नेपाल पुलिस क्लब १–१ ब्रिगेड ब्वाइज क्लब
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया