फुटबल

रेलिगेसनको दबाब बढेपछि पुलिसका मुख्य प्रशिक्षकले भने : विदेशी खेलाडी चाहिन्छ

इकागज |
पुस २६, २०७८ सोमबार १६:५८ बजे

काठमाडौँ- नेपालको घरेलु फुटबलको आधुनिक इतिहास हेर्ने हो भने नेपाल पुलिस क्लब निर्विवाद शक्ति हो । तर पछिल्लो समय उसको प्रदर्शन नाम अनुसारको छैन । झन् यो सिजनको सहिद स्मारक ए डिभिजन लिगमा त पटक्कै छैन । काठमाडौँमा जारी लिगका आठौँ चरणका खेल सकिँदा पुलिस रेलिगेसन क्षेत्रको नजिक छ । 

पाँच पटक लिग जितेका पुलिस यो सिजन ११ औँ स्थानमा छ । आठ खेल सकिँदा पुलिसको खातामा सात अंक छ । पुलिस र लिगको पुच्छारमा रहेको फ्रेन्ड्स क्लबको दूरी चार अंक छ । १३ औँ स्थानमा रहेको च्यासल युथ क्लबको खातामा पाँच अंक छ । अंक तालिकामा पुलिसभन्दा तीन टिम पछाडि छन् । फ्रेन्ड्स र च्यासलसँग ब्रिगेड ब्वाइज क्लब (बीबीसी) पुलिसभन्दा तल छ । 


सोमबार पुलिस र बीबीसी आमनेसामने भएका थिए । दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले एक–एक गोल गरे । पुलिसका लागि यो लिगकौ चौथो बराबरी हो । यो नतिजापछि पुलिसका मुख्य प्रशिक्षक अनन्त थापा निराश देखिए । 

‘हामीले विगतमा लिग जितेका थियौँ । यसकारण हामीलाई लिग उपाधि दाबेदार टिमका रुपमा स्थािपत गरेको हुनसक्छ । तर उपाधि दाबेदार हो भनेर मात्र केही हुँदैन । विगतमा हासिल गरेको सफलताका कारण फेरि सफल होइन्छ भन्ने छैन । मैदानमा नाम अनुसारको प्रदर्शन गर्नुपर्छ,’ बीबीसीसँगको खेलपछि अनन्तले भने । 

पुलिसले पछिल्लो पटक २०६८ सालमा लिग जितेको थियो । त्यसभन्दा अघिका दुई सिजन पनि पुलिस नै च्याम्पियन बनेको थियो । त्यसपछिका सिजन भने पुलिसको प्रदर्शन खस्कँदो छ । यो सिजनको प्रदर्शनले आफूहरु रेलिगेसनको दबाबमा रहेको पनि अनन्तले स्विकारे । ‘हामी रेलिगेसनको दबाबमा छौँ । यस्तोमा हाम्रो रणनीति आफूभन्दा तल रहेका टिमबाट तीन अंक खोस्न नसके तीन अंक नदिने हो,’ अनन्तले भने । 

उनले पुलिसले पनि विदेशी खेलाडी अनुबन्धन गर्नुपर्नेमा जोड दिए । लिगका अन्य टिमसँग विदेशी खेलाडी रहेको र ती खेलाडीको प्रदर्शन अब्बल रहेकाले आफूहरूले पनि विदेशी खेलाडी ल्याउनु पर्ने अनन्तको भनाइ थियो । 

लिगमा पुलिसको प्रदर्शन
विभागीय टिम पुलिसले आफ्नो पहिलो खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी एएफसीसँग १–१ को बराबरी खेलेको थियो । लिगको सुरुवात बलियो आर्मीसँग बराबरी खेल्दै गरेको पुलिसले दोस्रो खेलमा भने पूरै तीन अंक बटुलेको थियो । दोस्रो खेलमा उसले जावलाखेल युथ क्लबलाई हराएको थियो । 

त्यसपछिका खेलमा भने पुलिसले जित हासिल गर्न सकेको छैन । बरु संकटा क्लब, मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबसँग हार बेहोरेको छ । अनि रेलिगेसन ब्याटलमा रहेको फ्रेन्ड्स क्लबसँग समेत बराबरीमा रोकिएको छ । 

लिगमा आठौँ चरण सकिँदा पुलिसले अब पाँच खेल खेल्न बाँकी छ । पुलिसले अब नवौँ चरणमा च्यासल युथ क्लबको सामना गर्नेछ । त्यस्तै बाँकी खेलहरूमा पुलिसको भेट सातदोबाटो युथ क्लब, थ्रीस्टार क्लब, नेपाल एपीएफ फुटबल क्लब र न्युरोड टिम (एनआरटी)सँग हुनेछ ।
 


Author

थप समाचार
x