फुटबल

सुपर कप क्लासिको

फेरिएको बार्सिलोनाले लिग लिडर रियलको सामना गर्दै

इकागज |
पुस २८, २०७८ बुधबार १३:४९ बजे

काठमाडौँ- बार्सिलोना र रियल मड्रिडबीच यो सिजन एक पटक भेट भइसकेको छ । गत अक्टोबरमा क्याम्प नौउमा भएको एल क्लासिकोमा बार्सिलोना २–१ ले पराजित भएको थियो । त्यस खेलमा रियलको सामना गर्दैगर्दा बार्सिलोना समस्याबाट गुज्रिरहेको थियो । एक त लियाेनल मेस्सीको बर्हिगमन अनि त्यसमाथि आर्थिक समस्या । यसकारण बार्सिलोनाको हारले समर्थकलाई खासै अच्चमित पारेको थिएन । 

बुधबार राति यो सिजनको दोस्रो क्लासिको हुँदैछ । तर यो स्पेनिस ला लिगाको क्लासिको होइन । बरु स्पेनिस सुपर कपको सेमिफाइनल खेल हो । र यसका लागि बार्सिलोना र रियल साउदी अरब पुगिसकेका छन् । 


यो पटकको क्लासिको केही फरक हुने अपेक्षा गरिएको छ । कमसेकम बार्सिलोनाले पहिलेको भन्दा बलियो प्रदर्शन गर्ने आशा छ । यसको कारण टिममा भएको परिवर्तन हो । बार्सिलोनाकै पूर्वखेलाडी जाभी हर्नान्डेज प्रशिक्षकका रुपमा टिमसँग जोडिएका छन् । र क्लबको आर्थिक अवस्थामा पनि केही सुधार आएको बताइएको छ । 

‘हो हामी फरक स्थितिमा छौँ । त्यसबेला हामी निकै समस्यामा थियौँ । अहिले भने हाम्रो प्रदर्शनमा सुधार आएको छ । आशा छ यो पटक हामी जित निकाल्न सक्नेछौँ । रियललाई हराउन सके हामीलाई बेग्लै किसिमको सन्तुष्टि प्राप्त हुनेछ । यसले हामीलाई बाँकी सिजनका लागि आत्मविश्वासी पनि बनाउनेछ,’ बार्सिलोनाका रक्षक जेरार्ड पिकेले भनेका छन् । 

पिकेले भनेझैँ यसपालि बार्सिलोना तुलानात्मक रुपमा बलियो अवस्थामा छ । यसको एक कारण खेलाडीहरूको उपलब्धता पनि हो । पहिलो क्लासिकोमा बार्सिलोनाका धेरै खेलाडी चोटका कारण टिमबाहिर थिए । अहिले भने बार्सिलोनाका मुख्य खेलाडीहरू उपलब्ध छन् । अनि डानी आल्भेस र फेरान टोरेस नयाँ खेलाडीका रुपमा थपिएका छन् । 

‘हामी टिम पुनर्निमाणकै चरणमा छौँ । यो क्रम जारी छ । यसकारण रियलसँगको खेल हाम्रा लागि परीक्षा पनि हो । यसको नतिजाले हाम्रो टिममा कति सुधार आएको छ भनेर देखाउनेछ,’ जाभीले भनेका छन् । यसो भनिरहँदा उनले रियल हाल स्पेनकै सबैभन्दा बलियो टिम रहेको पनि स्विकार गरे । ला लिगामा बार्सिलोना रियलभन्दा १७ अंकले पछाडि छ । 


 


Author

थप समाचार
x