फुटबल

सुपर कोपा साउदीमा खेलाउने निर्णयप्रति खेलाडीकै आपत्ति

इकागज |
पुस २८, २०७८ बुधबार १४:४३ बजे

काठमाडौँ- स्पेनिस सुपर कोपाका सेमिफाइनलका खेलहरू यसपालि साउदी अरबमा हुँदैछन् । हुन त साउदीमा सुपर कोपा हुन लागेको यो पहिलो पटक होइन । २०१९–२० सिजनको सुपर कोपा पनि साउदीमै भएको थियो । गत सिजन भने कोभिड–१९ महामारीका कारण सुपर कोपाका तीनै खेल स्पेनमा खेलाइएको थियो । 

तर यसपालि भने सुपर कोपा साउदी फर्किएको छ । बार्सिलोना र रियल मड्रिड पहिलो सेमिफाइनलमा आमनेसामने हुँदैछन् । दोस्रो सेमिफाइनलमा भने एट्लेटिको मड्रिडले एथ्लेटिक बिल्बाओको सामना गर्दैछ । 


सुपर कोपका खेलहरू साउदीमा गराइनुको कारण उसको र स्पेनिस फुटबल संघबीचको सम्झौता हो । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार यी दुई पक्षक्षबीच १२ करोड युरो बराबरको सम्झौता भएको छ । सुपर कोपाका खेल साउदीमा सारिएपछि यसको विरोध भने भइरहेको छ । मानवअधिकारका विषयलाई लिएर साउदीको आलोचना हुँदै आएको र त्यहाँ पुग्ने विदेशी समर्थकलाई उपयुक्त व्यवहार नगरिने भएकाले कोपालाई साउदी नलग्‍न भनिँदै आइएको छ । 

यस्तो माग राख्‍नेमा  खेलाडी पनि छन् । यो सूचीमा सुपर कोपा खेल्न साउदीको रियाद पुगिसकेका राउल गार्सिया थपिएका छन् । ‘हाम्रो प्रतियोगिता साउदीमा खेलाइनु गलत हो । यस्तो निर्णय लिनुको पछाडि कुनै सही कारण छैन । हामीले खेल्ने हाम्रा समर्थकका लागि हो । तर विदेशी भूमिमा हाम्रा समर्थक पुग्न सक्दैनन् । यसले के देखाउँछ भने हामीले समर्थकबारे सोच्न छाडिसकेका छौँ,’ बिल्बाओका मिडफिल्डर गार्सियाले भनेका छन् । 
 


Author

थप समाचार
x