फुटबल

खेलाडीलाई दबाब पर्छ भने म लिग हेर्न रंगशाला जान्नः अल्मुताइरी

इकागज |
पुस ३०, २०७८ शुक्रबार १२:१ बजे

काठमाडौँ- नेपालका राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीले आफू सहिद स्मारक ए डिभिजन लिगका खेल हेर्न रंगशाला नजाने घोषणा गरेका छन् । रंगशालामा आफू उपस्थिति हुँदा खेलाडीलाई दबाब हुने भए टेलिभिजनमै खेल हेर्न आफू तयार रहेको अल्मुताइरीको भनाइ छ ।

‘म रंगशालामा हुँदा खेलाडीलाई राम्रो प्रदर्शन गर्न दबाब पर्ने भए वा क्लबले दबाब महशुस गर्ने भए म त्यहाँ जान छाडिदिन्छु ।  बरु टेलिभिजनमा खेल हेर्न तयार छु,’ अल्मुताइरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।


उनले क्लबका लागि राम्रो प्रदर्शन गर्ने खेलाडीले मात्रै राष्ट्रिय टिमका लागि पनि मेहेनत गर्ने जिकिर गरेका छन् । आफूले कुनै पनि खेलाडीलाई क्लबका लागि शतप्रतिशत मेहेनत गरेर नखेल्न नभनेको पनि प्रष्ट पारेका छन् । ‘लिगका खेलमा शतप्रतिशत मेहेनत नगरी खेल भनेर म कुनैपनि खेलाडीलाई भन्दिन । किनभने क्लबका लागि राम्रो खेल्ने खेलाडीले मात्रै राष्ट्रिय टिमका लागि राम्रो खेल्न सक्छ,’ अल्मुताइरीले लेखेका छन् । 

पछिल्लो समय अल्मुताइरीले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेका खेलाडीहरूलाई लिगमा ‘बचेर खेल्न’ दबाब दिएको भन्ने खबर आएको थियो । यसैको प्रतिक्रिया स्वरुप अल्मुताइरीले आफ्नो भनाइ राखेका हुन् । ‘फुटबलको विकासका लागि क्लब र लिगकै भूमिका प्रधान हुन्छ । यसकारण मैले खेलाडीहरूलाई लिगमा राम्रो नखेल भन्ने कुरा आउँदैन,’ अल्मुताइरीको भनाइ छ । 
 


Author

थप समाचार
x