जगजितले जगाए आर्मीको शीर्ष दुईको आशा
काठमाडौँ- नेपालको घरेलु लिगमा पुनरामगन गरेका जगजित श्रेष्ठकाे एक गोल र एक असिस्टको सहयोगमा त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा चौथो जित हात पारेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई ३–१ ले पन्छायो । यो जितपछि आर्मीले दोस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबसँगको दूरी दुई अंकमा झारेको छ । मनाङको नौ खेलबाट १९ अंक छ भने आर्मीको १७ अंक भएको छ ।
आर्मीको जितमा जगजित श्रेष्ठबाहेक दिनेश हेम्जन र सुमन अर्यालले पनि गोल गरे । फ्रेन्ड्सका लागि जेमौल एन्थोनीले एक गोल फर्काए । अस्टे«लियाबाट लिग खेल्न फर्किएका जगजितले १० औँ मिनेटमा ‘लङ रेन्ज’ गोल गरेका थिए ।
पहिलो हाफको उत्तर्राद्धमा आर्मीले अग्रता दोब्बर बनायो । यसपटक दिनेशले स्ट्राइकर जर्ज प्रिन्स कार्कीको पासमा सजिलो गोल गरे । जगजितले कर्नर क्षेत्रबाट गरेको लामो प्रहारलाई फ्रेन्ड्सको रक्षापंक्तिले क्लियर गर्न नसकेपछि जर्जप्रिन्सले बल नियन्त्रणमा लिएका थिए । उनकै पासमा अनमार्क्ड रहेका दिनेशले गोल गरे । दोस्रो हाफको ७० औँ मिनेटमा आर्मीका सुमन अर्यालले हेडर गोल गरे ।
त्यसअघि ४६ औँ मिनेटमा फ्रेन्ड्सका जमोल एन्थोनी फ्रान्कोइसले सान्तवना गोल फकार्एका थिए । आर्मीका युद्ध शाहीले गोलरक्षक विकेश कुथुलाई पास दिएको बल प्रिजेन तामाङले खोसेर फ्रान्कोइसलाई दिएका थिए । जसले सहजै गोल गरे ।
जारी लिगमा एकै खेल पनि नजितेको फ्रेन्ड्स १४ औँ स्थानमा छ । नवौँ चरणको खेल खेल्दा उसले तीन अंक जम्मा गरेको छ । फ्रेन्ड्सभन्दा एक स्थानमाथि च्यासल युथ क्लब १३ औँ स्थानमा छ । च्यासलको खातामा पाँच अंक छ ।
एएफसी कप छनौटमा कुन टिमले भाग लिने भनेर टुंगो लागिसकेको बेला अबको मुख्य प्रतिस्पर्धा लिग उपाधिका लागि नै हो । यो दौडमा मछिन्द्र फुटबल क्लब र मनाङ अगाडि देखिएका छन् । मछिन्द्रको आठ खेलबाट २० अंक छ । यस्तोमा मछिन्द्रलाई नजिकबाट टक्कर दिइरहेको टिम मनाङ नै हो ।
तर शनिबारको जितपछि आर्मीको गणितीय सम्भावना जागेको छ । हुन त संकटा क्लबले आर्मीसँगको दूरी घटाउने प्रयास गरिरहेको छ । चौथो स्थनको संकटाले शनिबार नै थ्रीस्टार क्लबको सामना गर्दैछ । पछिल्लो समय लयमा देखिएको थ्रीस्टारले संकटालाई हराए आर्मीको तेस्रो स्थान सुरक्षित रहनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया