फुटबल

विजयको गोलले थ्रीस्टार विजयी, संकटाको अपराजित यात्रामा पूर्णविराम

इकागज |
माघ १, २०७८ शनिबार १९:४० बजे

काठमाडौँ- विजय भुजेलले आतिरिक्त समयको उत्तर्राद्धमा निर्णायक गोल गरेपछि थ्रीस्टारले सहिद स्मारक ए डिभिजन लिगमा शनिबार साँझ संकटा क्लबलाई १–० ले पराजित गरेको छ । लिगमा चौथो जित दर्ता गरेपछि थ्रीस्टार चौथो स्थानमा उक्लेको छ । उता पहिलो पराजय भोगेको संकटा भने पाँचौँ स्थानमा झर्‍यो । नवौँ चरणका खेल खेलेका थ्रीस्टारको खातामा अब १६ अंक जम्मा भएको छ भने संकटासँग १४ अंक छ । 

९० औँ मिनेटमा मैदान प्रवेश गरेका विजयले सात मिनेटपछि नै गोल गरेका थिए । संकटाका गोलरक्षक राजाबाबु थापाले थ्रीस्टारका हेमन्त थापा मगरले प्रहार गरेको लामो फ्रिकिकलाई राम्रोसँग क्लियर गर्न नसकेपछि गोलको अवसर सिर्जना भएको थियो । राजबाबुले नियन्त्रणमा लिन नसकेको बल पेनाल्टी बक्समा रहेका थ्रीस्टारका राफाएल बिडियास रिमले पाए अनि विजय भुजेललाई दिए । त्यसपछि पिवक्षीका कुनै पनि खेलाडीको नजरमा नरहेको विजयले सजिलै गोल गर्न सफल भए । 


लिगको सुरुवाती पाँच खेलमध्ये एकमा मात्रै जित दर्ता गरेको थ्रीस्टारले पछिल्लो समय भने उत्कृष्ट लय देखाइरहेको छ । संकटालाई हराएसँगै उसले लगातार तेस्रो जित निकालेको छ । यसअघि ललितपुरे क्लब थ्रीस्टारले हिमालयन शेर्पा क्लब र जावलाखेल युथ क्लबलाई पन्छाएको थियो । 

उता संकटाका लागि भने यो पहिलो हार हो । संयोगवश् संकटाका मुख्य प्रशिक्षक विष्णु गुरुङको अपराजित यात्रालाई उनकै पूर्वक्लब थ्रीस्टारले पूर्णविराम लगाइदिएको हो । लिगमा मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबलाई बराबरीमा रोकेको संकटा छैटौँ चरणयता जितविहीन छ । थ्रीस्टारसँग भिड्नुअघि संकटाले च्यासल युथ क्लब र सातदोबाटो युथ क्लबसँग बराबरीमा रोकिएको थियो । 

लिगमा अब थ्रीस्टार संकटाले चार–चार खेल खेल्न बाँकी छ । थ्रीस्टारका अबका विपक्षी मनाङ, नेपाल पुलिस क्लब, मछिन्द्र र ब्रिगेड ब्वाइज क्लब रहेका छन् । उता संकटाले भने एपीएफ फुटबल क्लब, न्युरोड टिम, त्रिभुवन आर्मी फुटबल क्लब र जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 
 


Author

थप समाचार
x