आज्पिकुएल्टा बार्सिलोना जान सक्ने
काठमाडौँ- सिजर आज्पिकुएल्टा अगस्ट, २०१२ देखि इंग्लिस क्लब चेल्सीमा छन् । फ्रेन्च क्लब मार्सेबाट चेल्सी पुगेका आज्पिकुएल्टाले त्यहाँ इंग्लिस प्रिमियर लिग जितेका छन् । अनि चेल्सीले च्याम्पियन्स लिग, युरोपा लिगलगायतका प्रतियोगिता जित्दा पनि आज्पिकुएल्टा टिम सदस्य थिए ।
फुलब्याक आज्पिकुएल्टाले चेल्सीको जर्सीमा चार सय ५६ खेल खेलिसकेका छन् । हाल आएर भने आज्पिकुएल्टाले चेल्सी छाड्ने हल्ला चलिरहेको छ । यसको कारण हो, सम्झौता नवीकरणका लागि जुट्न नसकेको सहमति ।
चेल्सीका कप्तानसमेत रहेका स्पेनिस डिफेन्डर आज्पिकुएल्टाको इंग्लिस क्लबसँगको सम्झौता आउँदो जुनमा सकिँदैछ । यसबीचमा उनी बार्सिलोना जाने खबर आइरहेका छन् । ३२ वर्षीय आज्पिकुएल्टा जारी सिजनको अन्त्यमा ‘फ्रि–ट्रान्सफर’मा बार्सिलोना जाने सम्भावना रहेको गोल डटकमले लेखेको छ ।
बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेज आज्पिकुएल्टालाई आफ्नो टिममा ल्याउन प्रयासरत रहेको बताइएको छ । बार्सिलोनामा युवा तथा कम अनुभवी खेलाडीको बाहुल्य रहेका कारण त्यहाँ आज्पिकुएल्टाको उपस्थितिले महत्वपूर्ण भूमिका खेल्ने अनुमान जाभीले गरेका छन् ।
हुन त चेल्सीले पनि आज्पिकुएल्टालाई क्लबमै राख्न चाहेको छ । यसका लागि उसले एक वर्षे नयाँ सम्झौता प्रस्ताव राखेको छ । तर आज्पिकुएल्टा भने यस्तो सम्झौतामा सहमत भएका छैनन् । उता बार्सिलोनाले भने आज्पिकुएल्टालाई चेल्सीले प्रस्ताव गरेको भन्दा लामो समयावधि भएको सम्झौता प्रस्ताव गरेको बताइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया