फुटबल

नतिजाभन्दा प्रदर्शन, जुझारुपन र रणनीतिक लचकता महत्वपूर्णः अल्मुताइरी

इकागज |
माघ १५, २०७८ शनिबार १३:३ बजे

काठमाडौँ- अफ्रिकी टिम मरिसस नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्न काठमाडौँ ओर्लिएको छ । उसको आगमनपछि नेपाली सञ्चार माध्यममा पर्याप्त लेखिएको छ, मैत्रीपूर्ण खेलमा नेपालले गर्ने गरेको प्रदर्शनबारे । समाचारहरूमा लेखिए जस्तै, नेपालले मार्च, २०११ यता कुनै पनि मैत्रीपूर्ण खेल जितेको छैन । 

मैत्रीपूर्ण खेलमा नेपालले हात पारेको अन्तिम सफलता भुटानविरुद्ध हो । त्यसबेला भुटानसँग नेपालले दुई खेल खेलेको थियो । दशरथ रंगशालामा भएका ती दुवै खेलमा नेपाल विजयी बनेको थियो । पहिलो खेलमा १–० को जित दर्ता गरेको नेपालले दोस्रो खेल २–१ को अन्तरले जितेको थियो । 


नेपालको विपक्षी मरिससले भने मैत्रीपूर्ण खेलमा हासिल गरेको पछिल्लो जित जुलाई, २०१९ मा हो । उसले फिजीमा भएको खेलमा न्यु कालेडोनियालाई पराजित गरेको थियो । उसले जनवरी, २०२० यता भने कुनै पनि खेल खेलेको छैन । यद्यपि नेपाल आइपुग्नुअघि उसले ४५ दिन अभ्यास गरेको बताइएको छ । हुन त उनीहरूको डेढ महिने लामो अभ्यास नेपालसँगको खेलका लागि मात्रै होइन । मरिसस अफ्रिका कप अफ नेसन्स (एफ्कोन) छनौटका लागि तयारी गरिरहेको छ । 

प्रि–म्याच कन्फ्रेन्समा मरिससका मुख्य प्रशिक्षक टोनी फ्रान्कोइसले नेपालविरुद्ध राम्रो प्रदर्शन गर्न प्रयास गर्ने प्रतिक्रिया दिए । शनिबार हुने पहिलो खेलमा फ्रान्कोइसको टिममा काठमाडौँ आइपुगेका चार खेलाडी हुने छैनन् । उनीहरू कोभिड–१९ को संक्रमणमा परेका छन् । तर उनीहरू दोस्रो खेलका लागि भने उपलब्ध हुने फ्रान्कोइसको आशा छ । नेपालसँगको खेलका लागि आफ्नो टिममा केही नयाँ खेलाडी पनि रहेको फ्रान्कोइसको भनाइ थियो । उनी र उनका कप्तान केभिन ब्रुले घरेलु टिम बलियो रहेको भन्न छुटाएनन् । 

उता नेपालका प्रशिक्षक किरण श्रेष्ठले मरिसस शारीरिकरुपमा बलियो टिम रहेको बताए । विगतका खेलमा गरिएका गल्ती मरिसससँग भिड्दा नदोहोर्‍याउने आशा पनि उनले व्यक्त गरे । मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीको अनुपस्थितिमा पत्रकार सम्मेलनलाई सम्बोधन गरेका किरणले भने, ‘हामी बढी भन्दा नयाँ खेलाडीले मौका पाउन् भन्ने सोचमा छौँ,’ फिफा वरीयतामा १७२ औँ स्थानमा रहेका मरिसससँगको दुई खेलका लागि नेपालले दुई टिमको घोषणा गरेको छ । कप्तान किरण कुमार लिम्बुलगायतका १२ खेलाडी दुवै टिममा छन् ।  

पत्रकार सम्मेलनमा अनुपस्थित अल्मुताइरीले सामाजिक सञ्जाल फेसबुकमार्फत मरिसससँगको खेलको नतिजामा भन्दा समग्र प्रदर्शन कस्तो रह्यो भन्नेमा ध्यान दिनु पर्ने बताएका छन् । ‘साफ च्याम्पियन्सिपपछि नेपाल पहिलो पटक मैदानमा उत्रन लागेको छ । नतिजाभन्दा प्रदर्शन, जुझारुपन र रणनीतिक लचकता महत्वपूर्ण हाे । यसकारण म चाहन्छु सबै समर्थकले समर्थन र स्नेह देखाउन्,’ अल्मुताइरीले शनिबार फेसबुकमा लेखेका छन् । 

अल्मुताइरीको प्रशिक्षणमा नेपालले १२ खेल खेलिसकेको छ । यी खेलमध्ये ओमानविरुद्धको मैत्रीपूर्ण खेल आधिकारीक होइन । कतारमा बन्द प्रशिक्षणमा रहेका बेला नेपालले ओमानसँग खेलेको थियो । त्यस खेलमा नेपाल ७–२ ले पराजित भएको थियो । अल्मुताइरी नेतृत्वको नेपालले आधिकारीक पहिलो खेलमा पनि खाडीकै टिमको सामना गर्‍यो । बलियो इराकविरुद्ध उत्रेको नेपाली टिम ६–२ को अन्तरमा पछि पर्‍यो । 

त्यसपछि नेपालले विश्वकप छनौट र साफ च्याम्पियनसिप खेलेको छ । यी दुईको बीचमा भारतसँग दुई मैत्रीपूर्ण खेल पनि खेल्यो । यी सबै खेलमा गरी नेपालले तीन जित हात पारेको छ । विश्वकप छनौटमा चाइनिज ताइपेई र साफ च्याम्पियनसिपमा श्रीलंका र मल्दिभ्सलाई हराएको थियो नेपालले । विदेशी भूमिमा जिते पनि अल्मुताइरीले नेपालमा भने जित निकाल्न सकेका छैनन् । यसकारण दशरथ रंगशालामा मरिससको सामना गर्दा उनको लक्ष्य जित नै हुनेछ । भलै उनले सामाजिक सञ्जालमा उनले जित हारभन्दा प्रदर्शन महत्वपूर्ण हो भने पनि । 

खेलः नेपालविरुद्ध मरिसस 
स्थान स्थानः दशरथ रंगशाला 
खेल समयः अपरान्ह ४ः४५ बजे 


 


Author

थप समाचार
x