फुटबल

राजनीतिक तनावमा फसेको बुरकिना फासोमा फुटबलले ल्याएको खुशी

इकागज |
माघ १६, २०७८ आइतबार १४:४१ बजे

काठमाडौँ- सन् २०१३ को अफ्रिका कप अफ नेसन्स (एफ्कोन)मा बुरकिना फासो उप–विजेता बनेको थियो । महादेसीय प्रतियोगितामा यो नै उसको अहिलेसम्मको सर्वोत्कृष्ट प्रदर्शन हो । चार वर्षअघि पनि बुरकिना फासो एफ्कोनको सेमिफाइनलसम्म पुग्यो । तर उसको यात्रा त्यहाँभन्दा अगाडि बढेन । उसलाई इजिप्टले हरायो । 

संयोगवश अर्को एफ्कोन इजिप्टले आयोजना गर्‍यो । तर बुरकिना फासो त्यसका लागि छनौट नै भएन । यसपालिको एफ्कोन क्यामरुनमा जारी छ । र बुरकिना फासो सेमिफाइनल प्रवेश गरेको छ । बुधबार राति भएको क्वार्टरफाइनलमा ट्युनिसियालाई १–० ले पराजित गरेपछि बुरकिना फासोले अन्तिम चारमा स्थान पक्का गरेको हो ।


ट्युनिसियालाई पराजित गर्न १९ वर्षीय डांगो ओटाराले निर्णायक गोल गरे । उनले पहिलो हाफको उत्तर्राद्धमा गोल गरेका थिए । तर यी किशोर गोलकर्ताले दोस्रो हाफमा मैदान छाड्नु परेको थियो । उनले ८३ औँ मिनेटमा रातो कार्ड पाएका थिए । रातो कार्ड पाए पनि खेलको नायक ओटारा नै बने । फ्रेन्च लिग वानमा लोरियन्टबाट खेल्ने ओटाराकै गोलका कारण बुरकिना फासो एक पटक फेरि फाइनलको नजिक पुगेको छ । बुरकिना फासोले बअ सेनेगल र इक्वेटोरियल गिनीबीचको विजेताको सामना गर्नेछ । 

बुरकिना फासो पश्चिम अफ्रिकाको देश हो । क्यामरुनमा भइरहेका महादेसीय प्रतियोगितामा प्राप्त सफलताका बुरकिना फासोका नागरिकका लागि विशेष बनेको छ । बुरकिना फासो हाल राजनीतिक तनावमा रहेकाले फुटबलले दिएको खुशी झनै विशेष बन्न पुगेको हो । 

बुरकिना फासोमा तनावमा फस्नुका कारण सैन्य कू हो । गत सोमबार मात्रै त्यहाँको सेनाले सत्ता हातमा लिएको थियो । बुरकिना फासोको सेनामा लेफ्टिनेन्ट कर्णेल रहेका पउल हेनरी डाम्बियाले राष्ट्रपति रोच काबोरेलाई अपदस्थ गर्दै सत्ता नियन्त्रणमा लिएका हुन् । उग्रवादीहरूको हिंसा नरोकिएको र उनीहरूलाई नियन्त्रणमा लिन नसकेको भन्दै काबोरेको आलोचना हुँदै आएको थियो । यही मौका छोपेर सेनाले कू काबोेरेलाई हटाएर आफूले सत्तामाथि नियन्त्रण जमाएको हो । 

बुरकिना फासोको राजधानी ओगाडुगु हाल सेनाको नियन्त्रणमा छ । यही अवस्थामा पनि सयौँ स्थानीय नागरिक राष्ट्रिय टिमको सफलताको खुशीयाली मनाउन सडकमा निस्किएको फ्रेन्च समाचार एजेन्सी एएफपीले लेखेको छ । ‘हाम्रो देशमा जे भइरहेको छ, यसले हामीलाई चैनमा रहन दिएको छैन । तर एफ्कोनमा हाम्रो टिमले जसरी खेलिरहेको छ, यसले हामीलाई खुशी भने पक्कै दिएको छ,’ स्थानीय आर्सन काबोेरेले एएफपीसँग भनेका छन् । 

बुरकिना फोसो र ट्युनिसियबीचको खेल हेर्न ओगाडुगुका धेरै स्थानमा ठूला–ठूला स्क्रिन राखिएका थिए । जहाँ खेल हेर्न सयौँ नागरिक भेला भएका थिए । त्यही भीडमा सेनाका जवानहरू समेत थिए । ‘आज हामीले महत्वपूर्ण खेल जितेका छौँ । यसको खुशीयाली मनाउन हामी सबै सडकमा छौँ । आज यहाँ कर्फयु छैन । किनभने सैनिक पनि खुशीयाली मनाइरहेका छन्,’ भीडमा भेटिएका जाकारिया बउडाले भनेका छन् । 
 


Author

थप समाचार
x